तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बिहान ९ बजे विभागीय टोली एपीएफ क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितकुमार पौडेलको नेतृत्वमा मैदान उत्रँदै छन् । कर्णालीको कप्तानी दिवान पुनले सम्हाल्ने छन् ।
चार अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको एपीएफ तेस्रो जितको लक्ष्यमा छ । एपीएफले यसअघिका तीन मध्ये पहिलो खेलमा बाग्मती प्रदेशलाई १०० रन र दोस्रो खेलमा मधेश प्रदेशलाई २ विकेटले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग २ विकेटको हार व्यहोरेको थियो । कर्णाली भने दोस्रो जितको लक्ष्यमा छ । यसअघिका तीन मध्ये दुईमा जित र एकमा हार व्यहोर्दै २ अंकका साथ कर्णाली तालिकाको सातौं स्थानमा रहेको छ । कर्णालीले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा भने गण्डकी प्रदेशसँग ४ विकेट र तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग १२७ रनले पराजित एको थियो ।
यस्तै, प्रतियोगिता अन्तर्गत अर्को खेलमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । तिलोत्तमास्थित एक्सट्रा टेक ओभल मैदानमा गण्डकी र कोशीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । तालिकाको पाँचौ स्थानमा रहेको गण्डकी तेस्रो जित निकाल्ने योजनामा हुनेछ । यसअघिका तीन मध्ये एकमा जित र दुईमा हार व्यहोरेको गण्डकीको २ अंक मात्र छ । गण्डकी आफ्नो पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने कर्णालीलाई ४ विकेटले हराएको गण्डकी आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग १४ रनले पराजित भएको थियो ।
यता कमजोर कोशी भने पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछ । जारी प्रतियोगितामा कोशी प्रदेश भने जितविहीन छ । यसअघिका सबै खेलमा पराजित कोशी अंक तालिकाको पुछारमा रहेको छ । आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशसँग २६ रनले पराजित भएको कोशीले दोस्रो खेलमा मधेससँग १६५ रन, तेस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग १५४ रन र चौंथो खेलमा त्रिभुवन आमी क्लबसँग ७ विकेटको हार व्यहोरेको थियो । प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसहित सात प्रदेशका टिम सहभागी छन् । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदान तथा दाङको देउदुरीस्थित मैदानमा गत फागुन २५ गतेदेखि एकसाथ सुरु भएको प्रतियोगिताका खेलहरु सिंगल राउन्ड रोबिनका आधारमा भइरहेका छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
