काठमाडौँ — लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशविरुद्ध गण्डकी प्रदेश ३१ रनमै अलआउट भएको छ ।
पहिला ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा अलआउट हुँदै ३१ रनमा समेटियो । जितका लागि कोशी प्रदेशले ३२ रनको लक्ष्य पाएको छ ।
रोचक त के भने कोशी प्रदेशले गण्डकीविरुद्ध अघिल्लो सिजनको बदला लिएको छ । अघिल्लो सिजनमा गण्डकीविरुद्ध कोशी २५ रनमै अलआउट भएको थियो ।
२०२४ जनवरी २१ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले पहिला ब्याटिङ गर्दै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको कोशी २५ रनमा अलआउट हुँदै १४२ रनले पराजित भएको थियो ।
आज भने कोशीले त्यही बदला लिएको छ । यद्दपि पीएम कपमा सबैभन्दा कम स्कोर बनाउने रेकर्ड भने आफ्नै नाममा राखेको छ ।
आजको खेलमा कोशीका विपिन महतोले कसिलो बलिङ गर्दै ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४० बल डट राख्दै १७ रन खर्चिए । यस्तै फिर्दोश अन्सारीले ३ र दीपेश कँडेलले एक विकेट लिए ।
गण्डकीका लागि वन्श क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन जना ब्याटर शून्य रनमै आउट भएका थिए ।
