प्रधानमन्त्री कप: कर्णालीले दियो एपीएफलाई १९० रनको लक्ष्य

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

PM Cup: Karnali set APF target of 190 runs

काठमाडौँ — लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विभागीय टोली एपीएफलाई १९० रनको लक्ष्य दिएको छ ।

सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १८९ रनको योगफल तयार गरेको हो । 

आक्रामक सुरुवात पाएको कर्णालीले मिडिल अर्डरमा लगातार विकेट गुमायो । तर अन्तिममा दीपेन्द्र रावत र कप्तान दिवान पुनको ३४ साझेदारीले कर्णालीलाई १८९ रनको स्कोरसम्म पुर्‍यायो । 

कर्णालीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए भने दीपेन्द्र रावतले ३० रनको योगदान दिए । यस्तै दिनेश अधिकारीले आक्रामक सट खेल्दै २६ बलमा ३३ रन बनाउँदा प्रकाश जैसीले २० तथा दिवान पुनले १२ रन बनाए भने अर्जुन घर्तीले १० रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

यस्तै बलिङमा एपीएफका लागि  अभिशेष गौतमले सर्वाधिक चार विकेट लिँदा कमल सिंह ऐरीले २, कप्तान रोहितकुमार पौडेल, भुवन कार्की, किशोर महतो र दीपक बोहोराले एक/एक विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully