कोशीसँग गण्डकी ९ विकेटले पराजित, अघिल्लो सिजनको बदला लिँदै कोशीले दर्ता गर्‍यो पहिलो जित

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Gandaki defeated by Koshi by 9 wickets, Koshi taking revenge of the previous season Registered first win

काठमाडौँ — लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्रीप कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोशीले ९ विकेटको शानदार जित निकालेको छ । 

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा गण्डकीले दिएको मात्र ३२ रनको झिनो लक्ष्य कोशीले ८ दशमलव २ ओभरमा एक विकेट गुमाउँदै जारी लिगमा पहिलो जित निकाल्यो । 

कोशीका लागि शकिब हकले नटआउट १६ रन बनाउँदा चिराग शाहले १० तथा सोनु अन्सारीले नटआउट ४ रन बनाए । बलिङतर्फ गण्डकीका सुबास भण्डारीले एक विकेट लिए ।

आज कोशीले गण्डकीविरुद्ध विशाल जित मात्र निकालेन, अघिल्लो सिजनमा गण्डकीले दिएको चोटको बदलासमेत लिएको छ । 

सन् २०२४ को जनवरी २१ मा मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कपमा कोशी गण्डकीविरुद्ध १६७ रनको लक्ष्य पछ्याउने क्रममा २५ रनमै अलआउट भएको थियो । 

हालसम्मका प्रधानमन्त्री कपको संस्करणमा २६ रनको लक्ष्य नै अहिलेसम्मको सबैभन्दा सानो लक्ष्य थियो । आज कोशीले पहिले फिल्डिङका क्रममा गण्डकीलाई ३१ रनमा अलआउट गर्दै झिनो लक्ष्य सेट गर्‍यो । र जवाफी ब्याटिङ गर्दा ९ विकेटले हरायो । 

पहिला ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा अलआउट हुँदै ३१ रनमा समेटियो । 

आजको खेलमा कोशीका विपिन महतोले कसिलो बलिङ गर्दै ६ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले ४० बल डट राख्दै १७ रन खर्चिए । यस्तै फिर्दोश अन्सारीले ३ र दीपेश कँडेलले एक विकेट लिए ।

गण्डकीका लागि वन्श क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन जना ब्याटर शून्य रनमै आउट भएका थिए ।

कान्तिपुर

Link copied successfully