न्यून स्कोरमा गण्डकी र कोशीको जुहारी

चैत्र ३, २०८१

सन्जु पौडेल

Gandaki and Koshi's Juhari in low scores

तिलोत्तमा — प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गत वर्ष कोशी प्रदेश केवल २५ रनमा अलआउट भएको थियो । गण्डकी प्रदेशको यो ठूलो सफलतामध्येको एक थियो । आइतबार ठीक उल्टो भयो । कोशीले गण्डकीलाई ३१ रनमै अलआउट गर्‍यो ।

तिलोत्तमास्थित एक्सट्राटेक ओभर मैदानमा गण्डकी केवल २०.४ ओभर मात्र टिक्न सक्यो । पीएम कपको इतिहासमा यो दोस्रो न्यून स्कोर हो । गण्डकीबाट कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । अर्जुन कुमालले बनाएको ९ रन नै व्यक्तिगत ठूलो स्कोर रह्यो । सुजन गौतमले अविजित ६ र चन्द्र पौडेलले ५ बनाए । तीन जना ब्याटर शून्य रनमै आउट भए ।

कोशीका विपिन महतो एक्लैले ६ विकेट लिए । प्लेयर अफ द म्याच उनले आठ ओभरमा ३ मेडन राख्दै १७ रन खर्चिए । फिर्दोस अन्सारीले ८ ओभरमा ५ मेडन राख्दै १० रन खर्चिएर ३ र दीपेश कँडेलले १ विकेट लिए । 

यसअघिका चार खेलमा पराजय भोगेको कोशीले नवौं ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । कोशीको यो पहिलो विजय हो । कोशीको जितमा शकिब हकले अविजित १६ रन बनाए । चिराग शाह १० रन बनाई सुवास भण्डारीको बलमा आउट भए । सोनु अन्सारीले ४ रनमा अविजित रहे ।  

एपीएफको तेस्रो जित

दीपक बोहराको अर्धशतक मद्दतमा नेपाल एपीएफ क्लबले आइतबार कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा दीपकले ७० रन बनाएपछि एपीएफले १ सय ९० रनको लक्ष्य ४० औं ओभरमा १ सय ९३ रन बनाउँदै पूरा गर्‍यो । 

२२ औं ओभरमा ८६ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा दीपक र सुमित महर्जनले छैटौं विकेटमा अविजित १ सय ७ रनको साझेदारी गरे । प्लेयर अफ द म्याच दीपकले ६७ बल खेली ८ चौका र ४ छक्का प्रहार गरे । सुमित महर्जनले ५३ बल खेल्दै ४ चौका र १ छक्कासहित ३५ रन बनाए ।

ओपनर लोकेस बम र कप्तान रोहित पौडेल समान २२ तथा आशिफ शेख २५ रनमा आउट भए । सन्दीप जोरा र भुवन कार्की ६–६ रनमा आउट भए । कर्णालीका लागि दीपेन्द्र रावत र कप्तान दिवान पुनले २–२ तथा प्रकाश जैसीले १ विकेट लिए । चार खेलमा एपीएफको यो तेस्रो जित हो । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो । ओपनर सुनील धमलाले सर्वाधिक ४७ रन बनाए । उनले ७५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । दिनेश अधिकारीले ३३, दीपेन्द्र रावतले अविजित ३०, प्रकाश जैसीले २०, दिवानले १२ र अर्जुन घर्तीले १० रन जोडे । एपीएफका अभिषेक गौतमले ४ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चिए । कमलसिंह ऐरीले २ तथा रोहित, भुवन, किशोर महतो र दीपकले १–१ विकेट लिए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully