पाँचथर — पाँचथरको फालेलुङमा जिल्लामै सबैभन्दा लामो दूरीमा सर्वाधिक पुरस्कार राशीको दौड प्रतियोगिता (म्याराथन) आयोजना गर्न लागिएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन’ भन्ने नारा सहित परिवर्तन संघ फालेलुङले ४४ किलोमिटर लामो म्याराथन आयोजना गर्न लागेको हो ।
प्रतियोगिता चैत १६ गते सञ्चालन हुने आयोजक परिवर्तन संघले जनाएको छ । दौड समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा रहेको फालेलुङ ३ नाम्लुवा भञ्ज्याङदेखि सुरु भएर ३ हजार २ सयम मिटर उचाईमा अवस्थित फालेलुङ ४ को फालौट (गोर्खेपानी)मा अवस्थित बोर्डर आउट पोष्ट पुगेर पुनः नाम्लुवा भञ्ज्याङमै आइपुगेर तालिका छ ।
यसैगरी नाम्लुवा भञ्ज्याङदेखि गोर्खेपानी पुगेर फर्किँदा धावकले ४४ किलोमिटरको दूरी पार गरेका हुने छन् । यस साहसिक खेलमार्फत् पर्यटन प्रवर्द्धनका साथै युवाहरुलाई लागुऔषध दुर्व्यसनबाट टाढा रहन भूमिका खेल्ने बताइएको छ ।
प्रतियोगिताका विजेतालाई ५५ हजार ५ सय ५५, दोस्रो हुनेलाई २७ हजार २ सय २७ र तेस्रो हुनेलाई १२ हजार २ सय १२ रुपैंया नगद सहित पुरस्कृत गरिनेछ ।
परिवर्तन संघको आयोजनामा सम्पन्न हुने प्रतियोगितामा हेभन्लि निर्माण पाथले सह आयोजकको भूमिका निर्वाह गर्ने बताइएको छ ।
