काठमाडौँ — फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नयाँ स्वरुपको बुद्धिचाल प्रतियोगिता हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार हराए ।
‘बेस्ट अफ थ्री’ को आधारमा आयोजित फाइनलमा क्षितिजले सुरुका दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पारेका थिए । सेमिफाइनलमा क्षितिले पुनम प्रसाईं र मिलनले सुजन काफ्लेलाई हराए ।
पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलोपल्ट गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ । उपाधि विजेता क्षितिजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६ सय, सेमिफाइनलिस्ट पुनम र सुजनले समान ६ हजार ४ सय प्राप्त गरे ।
हिमालयन चेसले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना गरेको अर्को प्रतियोगिता हिमालयन ब्लिट्ज कपको उपाधि राजन पुरीले जिते । स्वीस प्रणालीको आधारमा ९ राउन्ड सञ्चालित स्पर्धामा ७.५ अंक जोडेर अपराजित राजन विजेता भए ।
७ जित, १ हार र १ बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७.५ अंक जोडे । तर, उनलाई टाइब्रेकरको आधारमा उछिन्दै राजन च्याम्पियन भएका हुन् । सात जित र दुई हारको नतिजासहित ७ अंक बनाएका अभिक शाह तेस्रो भए । राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपैयाँ हात पारे ।
१६ स्पर्धा समावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गर्ल्सतर्फ यू–८ मा रुबेश्री चौलागाईं, यू–१२ मा निहाना श्रेष्ठ, यू–१४ मा नायुमा मगर र यू–१६ मा प्रज्ञा पन्त विजेता भए । ब्वाइजतर्फ यू–८ मा शुभांग प्रधान, यू–१० मा अभियान राई, यू–१२ मा दिपन मैनाली, यू–१४ मा प्रवीर केसी र यू–१६ मा अनमोल राई पहिलो विजेता भए ।
फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृष अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशीर्वाद थापा उत्कृष्ट चुनिए । प्रतियोगितामा ५० खेलाडी सहभागी थिए ।
सात्विक सर्वोत्कृष्ट खेलाडी
हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड प्रदान गरेको छ । सात्विकमान तुलाधरले प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने । उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता पाए । नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते । एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट सम्मान गर्यो ।
२०८० साल चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेमेडीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
