महिला क्रिकेटमा अर्को हार

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Another defeat in women's cricket

काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कमजोर प्रदर्शन कायमै रहेको छ । युगान्डामा भइरहेको चारदेशीय प्रतियोगितामा नेपाल बिहीबार घरेलु टोलीसँग ४० रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालले ५ खेलमा भोगेको यो चौथो हार हो । पछिल्ला १४ खेलमा नेपालले १३ मा हार बेहोरिसकेको छ ।

यसै प्रतियोगितामा नेपालले यसअघि युगान्डलाई १ विकेटले हराएको थियो । त्यो अवसर नेपालसामु फेरि आएको थियो । नेपालले इन्टेबेमा टस जितेर ब्याटिङमा आएको युगान्डालाई ९१–५ को स्कोरमा रोकेको थियो । 

ओपनरद्वय कप्तान जेनेट एमबाबाजी र प्रोसकोभिआ एलाको खाता खोल्नुअगाडि नै आउट भए । रीता मुसामालीले ४८ बलमा ३ चौकासहित र ३८ र इस्टर लोकुले २५ बलमा ३ चौकासहित २२ रन बनाए । स्टेफानी नामपिना २३ बलमा १३ रनमा अविजित रहिन् । नेपालबाट रिया शर्माले ४ ओभरमा १६ रन खर्चेर २ तथा पूजा महतो, ईश्वरी विष्ट र पूर्व कप्तान रुबिना क्षेत्रीले १–१ विकेट लिए । 

जवाफमा आएको नेपाल १७.१ ओभरमा ५१ रनमै अलआउट भयो । ओपनरमा आएकी इन्दु बर्माले १२ बल खेल्दै २ चौकासहित ११ र कविता जोशीले २७ बलमा १ चौकासहित १२ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । ओपनर सम्झना खड्का शून्यमा आउट भइन् । रुबिना र ममताले खाता खोल्न सकिनन् । पुजा ७, सना प्रविन ६, एलिसा यादव ९ र रिया २ रनमा आउट भए । युगान्डाबाट इरेने मुटोनी र इमाकुलेट नाकीसुयीले ३–३ विकेट लिए ।

नेपालले शुक्रबार आफ्नो अन्तिम खेल हङकङसँग खेल्नेछ ।

कान्तिपुर

Link copied successfully