सोल्मा फुटबल प्रतियोगिताको उपाधि हलेसीलाई 

फाल्गुन २९, २०८१

डम्बरसिं राई

Solma football tournament title to Halesi

खोटाङ — सोल्मा पुरुष फुटबल पाँचौं संस्करणको प्रतियोगिताको उपाधि हलेसीले चुमेको छ । सोल्मा स्पोर्ट्स क्लबको घरलु खेलमैदानमा बिहीबार सम्पन्न खेलमा दिक्तेल केएफएलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।

विजेता टिमले एक लाख ३३ हजार तीन सय ३३ रूपैयाँ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । त्यस्तै उपविजेता दिक्तेल केएफएले ७१ हजार एक सय ११ रूपैयाँ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाएका छन् । सेमीफाइनलिस्ट आयोजक सोल्मा स्पोर्ट्स क्लब र जालपाले ३५ हजार ५ सय ५५ रूपैयाँका दरले नगद ट्रफी र प्रमाणपत्र पाएका छन् । 

विधागत पुरस्कारअन्तर्गत बेस्ट प्लेयर हुने हलेसीका भुवन श्रेष्ठले पाँच हजार पाँच सय ५५ रूपैयाँ नगद ट्रफी र प्रमाणपत्र पाएका छन् । बेस्ट गोलकिपरमा हलेसीका पुसन राई, बेस्ट डिफेन्डर सोल्माका आशिष राई, बेस्ट मिडफिलडर दिक्तेल केएफएका सोइसन राई, हाइस्कोरर दिक्तेल केफएएका शैलेन्द्र बजिमय, बेस्ट कोच हलेसीका लोकेन्द्र केसी, राइजिङ प्लेयर केएफएका सुलभ भुजेल घोषित भएका छन् । उनीहरूले जनही ३ हजार ३ सय ३३ रूपैयाँका नगदसहित ट्रफी र प्रमाणपत्र पाएको खेल संयोजक अमर श्रेष्ठले बताए । 

खेलकुद पत्रकारिता पुरस्कारबापत समायोजन खबरका पत्रकार चिसाङ शेर्पाले पाँच हजार पाँच सय ५५ रूपैयाँ पाएका छन् । 

कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले पुरस्कार वितरण गरेका हुन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully