काठमाडौँ — सरस्वती युवा क्लबले सहिद स्मारक लिग ‘बी’ डिभिजनमा बुधबार विजयी सुरुआत लिने क्रममा बाँसबारीलाई २–१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीबाट सविन मगरले ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए । खेलको ५१ औं मिनेटमा धिरेन्द्र साहले दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बिके राईले बाँसबारीका लागि एक गोल फर्काए ।
बुधबारकै अर्को खेलमा नयाँबस्ती समाज र ब्वाइज युनियनले गोलरहित बराबरी खेले । यससँगै लिगको पहिलो चरणको खेल सकिएको छ । श्री भगवती युवा क्लब ३ अंकसहित १४ टिममध्ये शीर्षस्थानमा छ ।
अन्य ३ अंकमा रहेका टिममा प्लानिङ ब्वाइज, ब्रिगेड ब्वाइज र सरस्वती छन् । टुसाल, मध्यपुर, च्यासल, वीरगन्ज, नयाँबस्ती र ब्वाइज युनियनको १–१ अंक छ । हारसँगै अंकको खाता खोल्न असफल रहेका टिममा झापा, श्री कुमारी, बाँसबारी र आरसीटी छन् । सोमबारदेखि दोस्रो चरणको खेल सुरु हुनेछ ।
