दाङ — नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत मधेश प्रदेशले विभागीय टिम एपीएफ क्लबलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो।
मधेशले सुरुआत राम्रो गरे पनि मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा एपीएफलाई मध्यम लक्ष्य दिएको छ।
मधेशका कप्तान अनिल कुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलमा मयन बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो।
यद्यपि, मधेशका पवन सर्राफले पारी उकासेका थिए। ५ छक्का र ८ चौकासहित ७७ रन बनाएर ३४ औँ ओभरमा कमलसिंह ऐरीले बोल्ड गर्दै पेभेलियन फर्काएपछि त्यसपछिका ब्याटर एपीएफका बलरको दबाबमा खेले।
३४ औँ ओभरमा कमलसिंह ऐरीले पवन र दिनेश दासलाई आउट गरेपछि एपीएफले विशाल रन हुन रोकेको थियो।
मधेशका लागि कप्तान अनिल साहले १७ रन, मयन यादवले ११ रन, रुपेश सिंह र प्रदीप पासवानले समान १०-१० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
१६८ रनमा समेट्न एपीएफका कमल सिंह ऐरीले १ मेडनसहित ९ ओभरमा ५५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए।
यसैगरी, भुवन कार्की, कप्तान रोहित पौडेलले समान २-२ विकेट लिँदा अभिशेष गौतमले १ विकेट लिए।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन्।
दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरू राउन्ड रोविनका आधारमा भइरहेका छन्। हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन्। आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ। जारी प्रतियोगितामा बिहीबारसम्म भएको खेलको अंक तालिकामा एपीएफ तेस्रो र मधेश प्रदेश चौथो स्थानमा छ।
