काठमाडौँ — नेपालले युगान्डामा भइरहेको महिला ट्वान्टी–२० चारदेशीय क्रिकेट शृंखलामा बुधबार तेस्रो हार बेहोरेको छ । यो हारले नेपालमाथि दबाब बढेको छ । नेपाल नामिबियासँग २३ रनले पराजित भएको थियो । नतिजापछि नेपालको फाइनल प्रवेशको सम्भावना कमजोर बनेको छ । नेपाल ४ खेलबाट २ अंकमै छ ।
शृंखलाको पहिलो खेलमा पनि नेपाल नामिबियासँगको खेलमा पराजित भएको थियो । त्यसयता युगान्डालाई हराएको नेपालले हङकङविरुद्धको खेल पनि गुमायो ।
दोस्रो जित निकालेको नामिबियाको ४ अंक भएको छ । नामिबियाले प्रस्तुत गरेको १ सय २६ रनको लक्ष्यसामु नेपालले ५ विकेटमा १ सय २ रन मात्र बनाउन सक्यो । नेपालबाट ठूलो स्कोरमा सना प्रविनले ३१ रन र कविता कुँवरले १७ रन बनाएका थिए । पूजा महतो र इन्दु बर्माले समान १५ रन बनाए । नामिबियाली बलर इल्भिन केजरक्वाले २ विकेट हात पारिन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ८ विकेटमा १ सय २५ रन बनाएको थियो । यास्मिन खानले सर्वाधिक ४५ रन बनाइन् । नेपाली बलरमध्ये ईश्वरी विष्टले ३ विकेट लिइन् । रचना चौधरीले २, रिया शर्मा र इन्दु बर्माले १–१ विकेट लिए ।
