झापा — अफ्रिकन खेलाडी अबयोमी फकुन्लेको ह्याट्रिकमा चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी मेचीनगर गोल्डकपको फाइनल यात्रा तय गरेको छ । यो जितले उसलाई बिहीबार विराट गोल्डकप फाइनलमा थ्रीस्टारसँग बेहोरेको हार बिर्साइदिएको छ ।
निकै रोमाञ्चक खेलमा चिरपरिचित प्रतिद्वन्द्वी मच्छिन्द्र क्लबलाई ४–३ ले पराजित गर्दै चर्च उपाधिनजिक पुगेको हो । शनिबार हुने फाइनल खेलमा चर्च ब्वाइजको उपाधि होड आयोजक काँकडभिट्टा फुटवल ट्रेनिङ सेन्टरसँग हुने छ । चर्च ब्वाइजले पहिलो हाफअघिको ३–० को अग्रता उल्ट्याउँदै अप्रत्यासित जित हासिल गरेको हो ।
पहिलो हाफको ३० मिनेटपछि मात्रै खेल रोचक वनेको थियो । त्यसअघि दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । चर्च ब्वाइजका जय गुरुङको १५औं मिनेटको क्रस पासमा रिचार्ड विल्सनको हेड मच्छिद्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए ।
मच्छिन्द्रका युसुफ मलिकले ९औं मिनेटमा प्रहार गरेको बल गोलरक्षकले बचाउँदै कर्नर बनाए ।मच्छिन्द्रका विदेशी खेलाडी एन्द्रेस नियाको ७२ औं मिनेटको प्रहार गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।
जब ३० औं मिनेटमा मच्छिन्द्रले अग्रता लियो । त्यसपछि चर्च ब्वाइज दबाबमा पर्यो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोलमा परिणत गर्दा चर्चका गोलरक्षक टिकेन्द्र थापा अवाक बने । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनाउन एन्द्रेस नियालेले भूमिका खेले । आदित्य शाक्यको क्रसलाई उनले उत्कृष्ट रूपमा जाली चुमाएका थिए । दोस्रो गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै मछिन्द्रका लागि युसुफ मलिकले दोश्रो र टोलीका लागि तेस्रो गोल गरे ।
पहिलो हाफ सुखद रहेको मच्छिन्द्रका लागि दोस्रो हाफ भने पीडादायी बन्यो । पहिलो हाफलगत्तै चर्च ब्वाइजले उत्कृष्ट र अप्रत्यासित पुनरागमन गर्यो । खेलको ६१ औं मिनेटमा विदेशी खेलाडी अबयोमी फकुन्लेले पहिलो गोल फर्काएर चर्चको घाउमा मल्हम लगाउने काम गरे । ६९ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि मच्छिन्द्र सशंकित बन्यो । खेलको ७८ औं मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै नतिजा ३–३ को बराबरी बनाए ।
त्यसपछि त मछिन्द्र पूरै दबाबमा रह्यो । ८७औं मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गर्दै ४–३ को नतिजा बनाएपछि अन्ततः मच्छिन्द्रको हार निश्चित भयो । प्रतियोगिताको ‘प्लेयर अफ द म्याच’ चर्च ब्वाइजका अबयोमी फकुन्ले भए । उनी प्रतियोगिताकै पहिलो ह्याट्रिककर्ता हुन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।
