क्रिकेटका ३३ पुरुष र १९ महिला खेलाडी वर्गीकरणमा

नेपाल क्रिकेट संघ (क्यान) बाट मासिक २० हजारदेखि १ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने, ६ महिनाको प्रदर्शनपछि ग्रेडमा पुनः वर्गीकरण हुने

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

33 male and 19 female cricketers ranked

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय पुरुष तथा महिला क्रिकेट टोलीका खेलाडीको ग्रेड विभाजन गरी पारिश्रमिक तय गरेको छ ।

सेन्ट्रल कन्ट्र्याक्टमा रहने खेलाडीको सम्झौता अवधि ६ महिना (जनवरीदेखि जुनसम्म) रहनेछ । ६ महिनाको खेलाडीको प्रदर्शनका आधारमा बाँकी ६ महिनाका लागि पुनः खेलाडीको वर्गीकरण गरिने क्याले जनाएको छ ।

पुरुषका ३३ खेलाडीले मासिक पारिश्रमिक पाउनेछन् । त्यसमा २५ हजारदेखि १ लाख रुपैयाँसम्म तलब पाउनेछन् । महिलातर्फ १९ खेलाडीले मासिक पारिश्रमिक पाउनेछन् । उनीहरूले २० हजारदेखि ५० हजारसम्म पाउनेछन् । पुरुषतर्फ ५ र महिलातर्फ ४ ग्रेड छुट्याइएको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेर १ लाख तलब पाउनेमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख छन् । ग्रेड ‘बी’ मा रहेर मासिक ७० हजार पाउनेमा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, र अनिल साह छन् ।

त्यस्तै ग्रेड ‘सी’ मा हुनेले मासिक ५५ हजार तलब पाउनेछन् । त्यसमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । पुरुषको ग्रेड ‘डी’ मा मासिक ३५ हजार तलब पाउनेमा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा र मयन यादव रहेका छन् ।

सात प्रदेशका १–१ खेलाडीलाई इमर्जिङ खेलाडी घोषित गरी मासिक २५ हजार प्रदान गर्ने क्यानले जनाएको छ । इमर्जिङ श्रेणीमा दीपेश कँडेल (कोशी), रुपेशकुमार सिंह –मधेश), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् ।

महिलातर्फ ‘ए’ ग्रेडमा कप्तान इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर छन् । उनीहरूले मासिक ५० हजार पाउनेछन् । ग्रेड ‘बी’ मा कविता जोडीमात्र छिन् । उनले ३५ हजार पाउँछिन् । २५ हजार पाउने ग्रेड ‘सी’ का खेलाडीमा कविता कुँवर र सम्झना खड्का छन् । ग्रेड ‘डी’ मा १२ खेलाडी छन् ।

उनीहरूको तलब मासिक २० हजार हुनेछ । त्यसमा विन्दु रावल, अलिसाकुमारी यादव, मनीषाकुमारी उपाध्याय, सना प्रविन, रिया शर्मा, सिमाना केसी, कृष्मा गुरुङ, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, ज्योत्सनिका मरासिनी र रचनाकुमारी चौधरी छन् ।

कान्तिपुर

Link copied successfully