विराटनगर — नवौं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रतिद्वन्द्वी चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबले उपाधि जित्नेमा दृढ आत्मविश्वास व्यक्त गरेको छ ।
सहिद रंगशालामा बुधबार ६ बजे हुने फाइनलबाट चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा हुँदा थ्रीस्टारको दोस्रो पटक च्याम्पियन बन्ने दाउ छ ।
थ्रीस्टारले मछिन्द्र र त्रिभुवन आर्मीलाई रोक्दै उपाधि सामुन्ने पुगेको हो । थ्रीस्टारले मछिन्द्रलाई २–१ ले र सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो । विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई पन्छाएको थियो । चर्च ब्वाइजले एनआरटीलाई २–० ले र पुलिसलाई १–० ले हराको हो ।
चर्च ब्वाइज र थ्रीस्टारको यो सिजन पहिलोपल्ट विराट गोल्डकपको फाइनलमा भेट हुँदै छ । लिग विजेता चर्च ब्वाइजको मछिन्द्र र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेकाले मनोबल उच्च देखिएको छ ।
यता थ्रीस्टार पनि दोस्रो पटक उपाधि जितेर इतिहास रच्ने दाउमा छ । थ्रीस्टार पाँचौं विराट गोल्डकपको उपाधि विजेता हो । त्यस बेला थ्रीस्टारले आर्मीलाई ३–० गोलले हराएर उपाधि जितेको हो ।
चर्च ब्वाइज जारी सिजनमा चौथो उपाधि जित्ने लक्ष्यमा छ । यो सिजन ९ प्रतियोगितामा ८ गोल्डकपको फाइलन पुग्दा चर्च ब्वाइजले तीन उपाधि जितेको छ । त्यसमा फिदिम फाल्गुनन्द, झापा कप र बागमती गोल्कडप रहेको छ ।
सहिद रंगशालमा मंगलबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्न दृढ भएर खेल्ने बताए । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको एकमात्र लक्ष्य उपाधि भएको बताए । ‘यो सिजनमा हामीले मोफसलका तीन गोल्डकप उपाधि जितेका छौं । विराट गोल्डकप फाइनल पुगेका छौं । उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘चौथो उपाधि जित्ने योजनामा हामी प्रतिवद्ध छौं ।’
चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले भने, ‘थ्रीस्टार राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रदर्शन गर्छौं र उपाधि कब्जा गर्ने हाम्रो एकमात्र लक्ष्य छ ।’
थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । ‘फाइलनमा हामीले कप्तान योगेश गुरुङलाई धेरै मिस गर्नेछौं । डबल एलो कार्ड पाएकाले उनले खेल पाउने छैनन् तर हामी उत्कृष्ट खेलाडी खेलाएरु उनको अभाव पूरा गर्नेछौं,’ उनले भने ।
थ्रीस्टारका कप्तान योगेश गुरुङले आफू फाइनलमा मैदान उत्रन नपाए पनि राम्रो टिमवर्क भएकाले उपाधि जित्नेमा आफू ढुक्क गरेको बताए । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीतिअनुरूप खेल्दा आफू नभए पनि टिमले उपाधि जित्ने उनको तर्क थियो ।
विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्टले जनही १५ हजार पाउनेछन् ।
