तिलोत्तमा — रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा मधेश प्रदेशले जित निकालेको छ । उसका लागि ३ जना ब्याटरले हानेको अर्धशतकले जित निकाल्न सहज बनायो ।
मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल खडा गर्यो । मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ९२ रन जोडे ।
यसक्रममा उनले ११ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, ओपनर तथा कप्तान अनिलकुमार शाहले ७५ रन बनाए । ७५ बलको सामना गरेका उनले १० चौका प्रहार गरे । दिपेश दासले नटआउट ५६ रन बनाए । उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरे । बलिङमा कोशीका विपिन महतो र प्रकाश कार्कीले समान २–२ विकेट लिए ।
२ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउादा अलआउट भयो । कोशीका लागि शकिब हकले २५ रन बनाए । कोशीका ओपनरद्वय चिराग शाह र अंकित सुवेदी दुवै डकआउट भएका थिए । बलिङमा मधेशका रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच बने । जारी प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो भने मधेशको पहिलो जित हो ।
बुधबार सिद्धार्थ क्रिकेट मैदानमा सुदुरपश्चिम र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ भने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिसबीच खेल हुने लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सन्जय गुरुङले बताए ।
