काठमाडौँ — छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८–६ स्कोरले पराजित गरेको थियो । नेपालसहित तीन राष्ट्र रहेको समूह चरणको अर्को खेलमा भने नेपाल इरानसँग ४७–१४ ले पराजित हुँदै समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा भारतसँग नेपाललाई ५६–१८ ले पराजित भएपछि कांस्य पदक जितेको हो ।
भारत स्वर्ण र इरान रजत जित्न सफल भए । चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । सदस्य–सचिव घिसिङले एसियाली खेलकुदमा कबड्डी टोलीलाई सहभागी गराउँदा आफूले धेरै आलोचना खेप्नुपरेको स्मरण गर्दै फेरि एसियन च्याम्पियनसिपमा नेपालले पदक जितेर इतिहास रचेर सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको बताए ।
कांस्य विजेता टोलीकी कप्तान मानमति विष्टले परिषद्ले कबड्डीलाई गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताइन् । प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी थिए । सहभागीलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइएको थियो ।
खेलाडीमा मानमतिसहित जयन्ती बडु, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् । कबड्डी संघका महासचिव अरविन्दकुमार झा, प्रशिक्षकमा हरिना थापा र नितु गुरुङ निर्णायकको भूमिकामा इरान गएका थिए ।
