प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : आर्मी र पुलिसको जित

फाल्गुन २६, २०८१

सन्जु पौडेल

Prime Minister's Cup Men's National Cricket: Army and Police win

तिलोत्तमा — रुपन्देहीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित निकालेको हो । बागमतीको यो लगातार दोस्रो हार हो ।

पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउंदै २ सय ६२ रन जोड्यो । उसका लागि ओपनर गएका सन्तोष कार्की र त्रितराज दास ले ९६ रनको साझेदारी गरे । सन्तोषले अर्धशतक नै प्रहार गरेका थिए । उनले ९८ बलको सामना गर्दै १० चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको पारी खेले ।

कप्तान विनोद भण्डारीले अविजित ४७ रन बनाए । त्रितराजले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन जोडे । बलिङमा बागमतीका रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटाले १ विकेट लिए ।

खेलमा बागमतीको खराब प्रदर्शन रह्यो । २७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै बागमतीका खेलाडीले १ सय २८ रन जोडे । पाँचौं क्रमका ब्याटर विवेक मगरले सर्वाधिक ५१ रन बनाउन सफल भए । इशान पाण्डेले १९ र आशुतोष घिरोहियाले १० रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कप्तान पृथु बास्कोटा ९ रनमै आउट भए । बलिङमा आर्मीका साहब अलामको प्रदर्शन उत्कृष्ट रहृयो । उनले ८ ओभर बलिङ गर्दै १ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, आकाश चन्दले ३ विकेट हात पारे । खेलमा सन्तोष कार्की प्लेयर अफ द म्याच बने ।

त्यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा लुम्बिनीलाई ८७ रनले हराउँदै नेपाल पुलिस क्लबले जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४९ रन बनायो । ओपनर अर्जुन साउद ९ रनमा आउट भए । त्यसपछि कुशल भुर्तेल र अमित श्रेष्ठले तेस्रो विकेटको लागि ८२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । अमित २२ रनमा आउट भए । कुशलले अर्धशतक प्रहार गरे । उनले ७५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ६ रन मात्रै बनाए । आरिफ शेख र दीलिप नाथले ७८ रनको साझेदारी गरे । दीलिप ३४ रनमा आउट भए । आरिफले ५६ रन बनाए । गुल्सन झा अविजित ३६ रनमा रहे । पुलिसका लागि लुम्बिनीको तर्फबाट बलिङमा अजय चौहानले १० ओभरमा १ मेडनसहित ३८ रन मात्र खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले पनि ३ विकेट लिए ।

खराब सुरुवात गरेको लुम्बिनी ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो । १६ रन मात्रै बन्दा २ विकेट गुमिसकेको लुम्बिनीका लागि कप्तान देव खनालले मात्र ११ रन बनाए । ललित राजवंशीको बलमा उनी एलबीडब्लू धरापमा परे । ३० रन बनाएका ओपनर मिर्नाल गुरुङ चौथो विकेटको रूपमा पेविलियन फर्किए । पाँचौँ नम्बरमा आएका प्रज्वल थापालाई अन्य खेलाडीले साथ दिन सकेनन् । उनले सर्वाधिक ७२ रन बनाए । अन्य सात खेलाडीले दोहोरो अंक जोडेनन् ।

लुम्बिनीलाई हराउन बलिङमा पुलिसका सागर ढकालको प्रदर्शन सानदार रहृयो । १० ओभर बलिङ गर्दै २ मेडनसहित ३२ रन खर्चेर उनले ३ विकेट लिए । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट झारे । खेलमा पुलिसका कुशल भुर्तेल प्लेयर अफ द म्याच बने । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully