इन्डो–नेपाल टी–२० क्रिकेटः आयोजक सेमिफाइनलमा

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Indo-Nepal T20 Cricket: Hosts in semi-finals

झापा — इण्डो–नेपाल टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक बाहुनडाँगी युवा क्लब ४ विकेटले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेचीनगर–४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगितामा बुधबार आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित आयोजकले अन्तिम चारको यात्रा तय गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको बुधबारेले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनको झिनो योगफल बनायो । बुधबारेका लागि रिजन लिम्बू र अर्पन कार्कीले समान २१/२१ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन सकेनन् ।

बलिङतर्फ बाहुनडाँगीका सन्तोष प्रधान र नाजिर हुसेनले समान ३/३ तथा अभिषेक दाहाल र रमन कार्कीले २/२ विकेट हात पारे । ७३ रनको लक्ष्य पछ्याउँने क्रममा बाहुनडाँगीले १६ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा जित लक्ष्य पूरा गर्‍यो । 

बाहुनडाँगीका रोमन कार्कीले ३८ बलमा ५ चौकाको मद्दतमा २८ रन बनाए भने गणेश पौडेलले ७ बलमा १६ रन जोडे । बुधबारेका बलरमध्ये रिजन लिम्बूले सर्वाधिक २ विकेट लिए भने टेकेन्द्र कार्की, अर्जुन बराइली, मन्दिप खरेल र मिरोज सिटौलाले १/१ विकेट हात पारे । विजेता टोलीका रोमन कार्की उत्कृष्ट खेलाडी भए ।

कान्तिपुर

Link copied successfully