काठमाडौँ — सहिद स्मारक लिग ‘बी’ डिभिजनमा सोमबार प्लानिङ ब्वाइज र ब्रिगेड ब्वाइज क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्लानिङले झापा फुटबल क्लबलाई २–१ ले हराएको थियो । प्लानिङले १४ औं मिनेटमा फागुराम थापाको गोलमा अग्रता लिएको थियो ।
झापाका लागि ३९ औं मिनेटमा पुजन राईले बराबरी गोल फर्काए । निर्णायक गोल भने सुजन डंगोलले ६३ औं मिनेटमा गरेपछि प्लानिङ ब्वाइज ३ अंक बटुल्न सफल रह्यो । दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइजले श्री कुमारी क्लबलाई २–१ ले पराजित गरेको हो । ब्रिगेड ब्वाइजको जितका नायक रहे, आशिष गुरुङ ।
उनले १५ औं मिनेटमा पहिलो गोल गरे भने ४९ औं मिनेटमा दोस्रो गोल थपेका थिए । प्रणय गुरुङले ६१ औं मिनेटमा कुमारीका लागि एक गोल फर्काए । जितसँगै ब्रिगेड ब्वाइजको पनि ३ अंक भएको छ । प्लानिङ र ब्रिगेडले यस जितसँगै अंकतालिकामा सुरुआती अग्रता लिएको छ ।
