काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षमा आफ्नो अग्रतालाई शनिबार १६ अंक पुर्याएको छ । उसले एनफिल्डमा भएको खेलमा साउथह्याम्पटनविरुद्ध पुर्नआगमन रच्दै ३–१ को जित निकालेको हो ।
अब लिरभपुलले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा लिगकप फाइनलमा न्युकासलको सामना गर्नेछ ।
अंक तालिकाको अन्तिम स्थानमा रहेको साउथह्याम्पटनले विल स्मलबोनको गोलले अग्रता लिएको थियो । त्यसपछि डारविन नुनेजले बराबरी गोल गरे भने मोहमद सलाहले पेनाल्टीबाट दुई गोल थपे । यो जितपछि लिरभपुलको २९ खेलबाट ७० अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २७ खेलबाट ५४ अंक छ ।
त्यसपछि नटिङघम फरेस्ट ५१ अंकमा तेस्रो स्थानमा छ र उसले शनिबारको अर्को खेलमा म्यानचेस्टर सिटीलाई १–० ले हराएको थियो । अन्य खेलमा उल्भ्स र एभरटनले १–१ को बराबरी खेले भने एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई १–०, क्रिस्टल प्यालसले इपस्विच टाउनलाई १–० र ब्राइटनले फुलहमलाई २–१ ले हरायो ।
