काठमाडौँ — भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै आइतबार च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । दुबईमा भएको फाइनलमा जितका लागि लागि २ सय ५२ रनको लक्ष्य पाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाएर त्यसलाई आत्मसात गरेको हो ।
केएल राहुलले ३४ र रविन्द्र जडेजाले नटआउट ९ रन बनाउँदै भारतलाई जितसम्म पुर्याए ।भारतले च्याम्पियन्स ट्रफी जितेको यो तेस्रोपल्ट हो । उपाधि जित्ने क्रममा भारत अपराजित रहने एक्लो टिम रह्यो ।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७६ रन बनाए । उनले ८३ बलको इनिङ्समा सात चौका र तीन छक्का प्रहार गरे । उनले शुभमन गिलसँग पहिलो विकेटका लागि १ सय ५ रनको साझेदारी गरे । गिलले ३१ रन जोडे ।
यस्तै श्रेयश अय्यरले ४८ र अक्षर पटेलले २९ रन बनाए । श्रेयशले ६२ बलमा दुई दुई चौका र छक्का प्रहार गरे । हार्द्धिक पान्ड्याले १८ रन बनाए । न्युजिल्यान्डका बलरमध्ये माइकल ब्रेसवल र मिचेल सान्टनरले दुई दुई विकेट हात पारे ।
त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो । त्यसमा ड्यारेल मिचेल र माइकल ब्रेसवेलले अर्धशतक बनाए । मिचेलले सर्वाधिक ६३ रन बनाए ।
यसका लागि उनले १ सय १ बलको उपयोग गरे र तीन चौका प्रहार गरे । ब्रेसवेल भने ५३ रन बनाएर नटआउट रहे । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । भारतका लागि वरुण र कुलदीप यादवले समान दुई दुई विकेट लिए । भारतका लागि वरुण र कुलदीप यादवले समान २/२ विकेट लिए ।
