काठमाडौँ — सहिद स्मारक लिग ‘बी’ डिभिजनको आइतबार उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले निर्णायक आक्रमण बुन्न सकेनन् ।
यस्तोमा दुवैले एक एक अंकमा चित्त बुझाए । यस खेलसँग १४ टिम सम्मिलित ‘बी’ डिभिजन सुरु भएको छ र तिनीहरूले राउन्ड रोबिनको आधारमा खेल्नेछन् ।
त्यसमध्ये शीर्ष दुई स्थानमा रहने टिमको बढुवा हुनेछ भने अन्तिम दुई स्थानमा रहने टिम रेलिगेसनमा पर्नेछ । सोमबार सातदोबाटोको एन्फा कम्प्लेक्समा दुई खेलहुनेछन् । त्यसमा झापा एफसी र प्लानिङ ब्वाइज तथा ब्रिगेड ब्वाइज र श्री कुमारी क्लब भिड्ने छन् ।
