क्यानको वार्षिक क्यालेन्डर : लिग टु र विश्वकप छनोटमा केन्द्रित

अब १० महिनामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले १२ वटा टुर र प्रतियोगिता खेल्ने

फाल्गुन २५, २०८१

विनोद पाण्डे

Can's Annual Calendar: Focuses on League Two and World Cup Qualifiers

काठमाडौँ — संकटमा रहेको विश्वकप लिग–२ यात्रा र ट्वान्टी–२० विश्वकप छनोटलाई प्राथमिकतामा राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार वर्ष २०२५ को क्यालेन्डर सार्वजनिक गरेको छ । 

अब १० महिनामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले १२ वटा टुर र प्रतियोगिता खेल्नेछ । एकदिवसीय विश्वकप छनोट र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको बाटो रहेको लिग–२ मा नेपाल अहिले नाजुक अवस्थामा छ ।

१२ खेल खेलेर ६ अंकसहित नेपाल ८ राष्ट्र सहभागी प्रतियोगिताको सातौं स्थानमा छ । लिग–२ को शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछ भने तल्लो चार टोलीले छनोट खेलेर आउनुपर्ने प्रावधान छ । 

सन् २०१९–२३ को लिग–टु साइकलमा ३६ मध्ये १९ खेल जितेको नेपालले २०२४–२६ को चक्रमा दुई खेलमात्र जित्न सकेको छ । आउँदो १० महिनामा नेपालले स्कटल्यान्ड, यूएईमा गएर दुई फरक लिग–२ को शृंखला खेल्नेछ भने डिसेम्बरमा नेपालमा हुने भनिएको अर्को शृंखलाको मिति निश्चित बाँकी छ ।

‘हाम्रा लागि विश्वकप लिग–२ र ट्वान्टी–२० विश्वकप छनोट महत्त्वपूर्ण प्रतियोगिता हो, हामीले त्यहीअनुरुपको क्यालेन्डर बनाएका छौं,’ क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै सचिव पारस खड्काले भने, ‘हामीले क्यालेन्डरमा महिला क्रिकेटलाई पनि प्राथमिकतामा राखेका छौं ।’

जुनमा नेपालले स्कटल्यान्ड गएर यस वर्षको पहिलो लिग–२ शृंखला खेल्नेछ, जहाँ नेपालको स्कटल्यान्ड र नेदरल्यान्ड्स प्रतिद्वन्द्वी हुनेछ । त्यसअघि नेपाल १५ दिनका लागि बेलायत भ्रमणमा निस्किने छ र स्कटल्यान्डको लिग–२ को तयारी गर्नेछ । इंग्ल्यान्डको विभिन्न काउन्टी टिमसँग अभ्यास खेलको तयारी भइरहेको सचिव खड्काले बताए । नेपालले स्कटल्यान्डको लिग–२ पछि घरेलु टोलीसँग ट्वान्टी–२० शृंखला खेल्नेछ, जुन नेपालको ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा रहनेछ ।

नेपालले अक्टोबर १ देखि १७ सम्ममा ओमानमा गएर एसिया क्षेत्रको ट्वान्टी–२० विश्वकप खेल्ने कार्यक्रम छ । त्यसअघि नेपाली राष्ट्रिय पुरुष टोलीको तयारी क्याम्प जुलाईमा श्रीलंका, अगस्टमा भारतको विभिन्न स्थानमा पोकेट क्याम्प तथा सोही महिनामा अस्ट्रेलिया भ्रमण गर्ने तालिका क्यानले सार्वजनिक गरेको छ । सचिव खड्काका अनुसार नेपालले अस्ट्रेलियामा नर्थन क्षेत्रका टोलीहरूसँग खेल्ने छ । सेप्टेम्बरमा नेपालले यूएईमा पूर्ण राष्ट्रसँग ट्वान्टी–२० शृंखला खेल्नेछ । 

हाल युगान्डामा चारदेशीय प्रतियोगिता खेलिरहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अर्को महिना ट्वान्टी–२० विश्वकप छनोटको तयारीका क्रममा भुटान जानेछ । नेपालले थाइल्यान्डमा मार्च ७ देखि २१ सम्म हुने महिला ट्वान्टी–२० विश्वकप र एसिया कप छनोटमा खेल्नेछ । नेपाल, थाइल्यान्डसहित प्रतियोगितामा बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् । 

जुनमा थाइल्यान्डमै हुने महिला इमर्जिङ टिम्स एसिया कपमा खेल्ने नेपालले सेप्टेम्बरमा मलेसिया र यूएईसम्मिलित त्रिकोणात्मक शृंखलामा खेल्नेछ । क्यालेन्डरमा महिला राष्ट्रिय क्रिकेट टोलीको अक्टोबरमा प्रस्तावित श्रीलंका भ्रमण समेटिएको छ । यो भ्रमणबारे थप पुष्टि हुन बाँकी रहेको खड्काले बताए । 

नयाँ प्रतियोगिता महानगरपालिका कप

क्यानले नयाँ प्रतियोगिताको रूपमा महानगरपालिका कप सुरु गर्नेछ । क्यानले शनिबार सार्वजनिक गरेको २०२५ को क्यालेन्डरमा यसलाई समावेश गरिएको छ । डिसेम्बर महिनामा यो प्रतियोगिता हुने जनाइएको छ । 

महानगपालिका कपमा ६ महानगर टिमले सहभागिता जनाउने छन् । त्यसमा खेल्ने खेलाडीहरू क्यानले वर्गीकरण गरिदिने छ । कुनै पनि खेलाडीले जुनै महानगरपालिकाबाट खेल्न पाउनेछन् । हरेक महानगरपालिकाले पालैपालो प्रतियोगिता आयोजना गर्ने सचिव खड्काले बताए । 

नयाँ प्रशिक्षकको तयारी

राष्ट्रिय पुरुष क्रिकेट टोलीका लागि नयाँ प्रशिक्षकको खोजी प्रक्रिया अगाडि बढिसकेको सचिव खड्काले बताए । क्यानले मुख्य प्रशिक्षकका लागि मागेको आवेदनमा ७० जनाले फारम भरेका छन् । त्यसमा दुई जना यसअघि नेपालको प्रशिक्षक रहिसकेका व्यक्तित्व छन् । तर, सचिवले दुवैको नाम खुलाउन चाहेन ।

‘नेपालको मुख्य प्रशिक्षक बन्न ७० जनाको आवेदन आएको छ, हामी त्यसलाई सर्टलिस्ट गर्दैछौं,’ खड्काले भने, ‘प्रधानमन्त्री कप चलिरहेको समय वा ढिलोमा अप्रिलदेखि लागू हुने गरी नेपालको नयाँ प्रशिक्षकले आफ्नो काम सुरु गर्नेछन् र लिग २ तयारीका लागि जुट्ने छन् ।’ 

महिला टोलीमा पनि विदेशी प्रशिक्षक र प्रशिक्षण टोलीका अन्य सदस्य ल्याउने विषयमा छलफल गरिरहेको खड्काले बताए । अर्को महिना पुरुष राष्ट्रिय टोलीले हङकङ गएर चार राष्ट्रसम्मिलित प्रतियोगिता खेल्ने तालिका छ । यही टुर नयाँ प्रशिक्षकको पहिलो प्रतियोगिता पनि बन्न सक्नेछ । 

यू–१९ विश्वकप छनोट मूलपानीमा

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट मूलपानीमा हुने भएको छ । प्रतियोगिता अप्रिल १२ देखि २८ सम्म नेपालले आयोजना गर्ने तालिका छ । तर, नेपालको मुख्य क्रिकेट मैदान कीर्तिपुरस्थित त्रिवि मैदान निर्माणाधीन रहेकाले सबै खेल मूलपानीको दुई मैदानमा हुनेछ । 

माथिल्लो मूलपानी क्रिकेट मैदान र निर्माणाधीन तल्लो मूलपानी क्रिकेट रंगशालामा यू–१९ पुरुष विश्वकपको एसिया छनोट हुने सचिव खड्काले जानकारी गराए । उनका अनुसार डेढ महिना समय बाँकी रहेकाले तल्लो मूलपानीमा विशेष गरी विकेट र मैदानको काम तीव्र गतिमा भइरहेको छ ।

सात वर्षअघि तल्लो मूलपानीमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता भए पनि त्यसपछि त्यहाँ राष्ट्रियस्तरको प्रतियोगिता खेलाइएको छैन । तल्लो मूलपानीमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट आयोजना हुन लागेको हो । माथिल्लो मूलपानीमा यसअघि नै एसिया कप छनोट, ट्वान्टी–२० विश्वकप छनोट, द्विपक्षीय शृंखलाहरू आयोजना भइसकेका छन् । 

यू–१९ पुरुष विश्वकपको एसिया छनोटअघि नेपालले अफगानिस्तानसँग तीन युथ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ । ती खेल सबै माथिल्लो मूलपानी मैदानमा हुनेछ । त्रिवि क्रिकेट मैदानमा हाल पूर्वाधार निर्माण कार्य सुरु भइसकेको छ । यू–१९ पुरुष विश्वकपको एसिया छनोट सुरु हुनेक्रममा यो जारी रहने भएकाले मूलपानीमा खेलाइन लागेको हो । 

एनपीएल नोभेम्बरमा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजन नोभेम्बरमा हुनेछ । त्यसअघि जुनमा एनपीएलको रिलिज रिटेन र अगस्टमा मिनी अक्सन हुने क्यानले जनाएको छ । आठ फ्रेन्चाइज टोली समावेश पहिलो सिजनको एनपीएल नोभेम्बर–डिसेम्बरमा सकिएको थियो । 

नेपालले अक्टोबर २३ देखि नोभेम्बर ४ सम्म यूएई गएर विश्वकप लिग–२ को शृंखलामा यूएई र अमेरिकाविरुद्ध खेल्ने तालिका छ । नोभेम्बरकै पहिलो साता नेपालले हङकङ सिक्सेस पनि खेल्नेछ । त्यसपछि एनपीएल–२ हुनेछ । एनपीएलका लागि कीर्तिपुर मैदान सम्पन्न भइसक्ने विश्वास सचिव खड्काको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully