पाँचथर — इन्ट्रा पथरी फुटबल क्लबले पाँचथर आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा शनिबार उद्घाटन खेलमा आयोजक पाँचथर क्लबलाई २–० गोलले हराएको छ ।
सेमिफाइनलमा पुगेको टोलीका लागि खेलको पाँचौं मिनेटमा पथरीका सनम धिमालले गोल गरेका थिए । दोस्रो गोल अतिरिक्त समयमा विवेक राईले गरे । विदेशी खेलाडीसहित घरेलु मैदानमा उत्रेको पाँचथर क्लबले पटक पटक गुमाएको थियो । पथरीका समीर क्षेत्री उत्कृष्ट खेलाडी भए । उनले ७ हजार ५ सय पाए ।
सदरमुकामस्थित फिदिम माविको मैदानमा भएको प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी छन् । आइतबार चर्च ब्वाइज क्लब र हिल्स एकेडेमी भारतबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको उद्घाटन फिदिम नगरपालिकामा मेयर मित्रप्रसाद काफ्लेले गरे । विजेताले ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
