‘ट्र्याक’ मा फर्केको नेपाली फुटबल

केही महिनायताका फुटबल गतिविधि हेर्ने हो भने नेपाली फुटबल अहिले त्यो बिन्दुमा पुगेको छ, जहाँबाट अझै धेरै विस्तार हुँदै छ

फाल्गुन २४, २०८१

हिमेश

Nepali football is back on track

काठमाडौँ — नेपाली फुटबलमा के निराशा, अस्तव्यस्त र अनिश्चित मात्रै छ त ? पछिल्ला केही वर्षको अनुभवले केही हदसम्म यस्तै भन्छ । लगातार खेलाडीको विदेश पलायन, शीर्ष डिभिजन लिग हुन नसक्नु अनि अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक कलह जस्ता कारणले नेपाली फुटबलको छवि धुमिलिएको थियो ।

तर, अहिले स्थिति केही फेरिएको छ । अहिले भन्न सकिने स्थिति बन्दैछ, नेपाली फुटबल ‘ट्र्याक’ मा फर्केको छ । ‘ट्र्याक’ मा फर्केको अर्थ त्यो होइन कि नेपाली फुटबल दौडिन थालेको छ । केही महिनायताका फुटबल गतिविधि हेर्ने हो भने नेपाली फुटबल अहिले त्यो विन्दुमा पुगेको छ, जहाँबाट यसले ठीक दिशा लिन सक्छ ।

यो यस्तो विन्दु हो, जहाँबाट नेपाली फुटबलले अझ धेरै विस्तार र विकासको योजना बनाउन सक्छ । होइन, यत्तिकै चित्त बुझाउने हो भने फर्केने त त्यही निराशा, अस्तव्यस्त र अनिश्चित यात्रा मात्र हो । नेपाली फुटबल साँच्चै ‘ट्र्याक’ मा फर्केको छ त भन्ने केही कारण छन् । ती कारण यस्ता छन् :

'बी’ डिभिजन हुने निश्चित

नेपाली फुटबलमा एउटा ठूलो तगारोका रूपमा थियो, ‘बी’ डिभिजन हुन नसक्नु । यही एक कारणले नेपाली लिग फुटबलको पिरामिड नै बिथोलिएको थियो । अब भने निश्चित भएको छ, आइतबारदेखि सहिद स्मारक लिग ‘बी’ डिभिजन हुँदै छ ।

तीन महिना जतिको फुटबलपछि हामीले ‘ए’ डिभिजन उक्लने दुई टिम पाउने छौं । अब ‘ए’ डिभिजन हुने बाटो पनि खुलेको छ । त्यसैले ‘बी’ डिभिजन हुनु सुखद अवसर बनेको छ र यसका लागि सबैभन्दा बढी धन्यवाद यसमा सहभागी हुन १४ क्लबलाई दिनुपर्छ ।

धेरैलाई लाग्दो हो, ‘बी’ डिभिजन हुन नसक्नु पछाडि यसमा सहभागी हुने क्लब नै बढी जिम्मेवार छन् । तर, यो नै सबै सत्य पनि होइन । कतिपय तथ्यमा यी ‘बी’ डिभिजन क्लबले लिएका अडान ठीक पनि छन् । मुख्य कुरा एन्फा यी सबै क्लबलाई प्रतियोगितामा सहभागी गराउन सक्षम भएको छ, यो नै ठूलो हो । क्लब भनेको कुनै पनि देशको फुटबलको धरोहर हुन्, क्लबविना फुटबल कल्पना गर्न सकिन्न । यो सबैले बुझ्नैपर्छ ।

एनएसएलमा एनसेलको आगमन

अर्को महिनादेखि नेपाल सुपर लिग (एनएसएल) हुँदै छ । यही एनएसएलले मुख्य प्रायोजक पाएको छ । त्यो हो एनसेल । यो प्रतियोगिताका निर्देशक श्रेयान्स कार्कीले भनेजस्तै एकै पल्ट ‘एनसेल एनएसएल’ भन्दा गाह्रै पनि छ, शब्द लरबरिन सक्छ । तर यसमा समस्या नै के छ र ? यो पनि सुखद नै हो । एनसेल नेपाली ब्रान्डमध्ये सबैभन्दा ठूलोमा पर्छ भने नेपाली फुटबलले यसलाई पाएको छ ।

एनएसएलका पछिल्ला दुई संस्करणले पस्केको फुटबल साँच्चै माथिल्लो स्तरको थियो । हामीले केही उम्दा विदेशी खेलाडीको खेल पनि हेर्न पायौं । नेपाली फुटबलमा यही प्रतियोगिताको बाटो हुँदै कर्पोरेट क्षेत्र प्रवेश गरेको छ । सैद्धान्तिक रूपमा फ्रेन्चाइज फुटबल कति ठीक र कति बेठीक भन्ने तथ्य आफ्नै ठाउँमा छ । सहिद स्मारक लिग र फ्रेन्चाइज फुटबल सँगसँगै अगाडि जान सक्ने रहेछ नेपालमा ।

घाटामा नजाने लोकप्रिय खेल

दसैंयता मोफसलमा एकपछि अर्को गोल्डकप फुटबल भइरहेका छन् । लगभग साता दिन बिराएर एउटा प्रतियोगिता सकिन्छ अनि अर्को सुरु हुन्छ । यी प्रतियोगिता कति धेरै लोकप्रिय छन् भने यसमा कहिल्यै दर्शकको कमी हुन्न । त्यसैले फुटबलका प्रतियोगिताहरू बिरलै घाटामा जान्छन् । अचेल पोखरा आहारारामा दर्शक किन कम भए । यो प्रतियोगिता आफैंमा घाटामा गयो, यो भने एउटा ‘केस स्टडी’ हुनसक्छ ।

अन्यथा काठमाडौंबाहिर हुने गोल्डकप आयोजक सहर र क्षेत्रका लागि महोत्सवजस्तै हुने गर्छ । फुटबल समर्थकलाई टिकट काटेर यो खेल हेर्न समस्या छैन । भलै, उनीहरूले त्यसअनुसार सेवासुविधा पाउँदैनन् । त्यसैले अब मोफसलका प्रतियोगितालाई पनि व्यवस्थित गरेर अगाडि बढाउनुपर्ने हुन्छ । प्रतियोगिताको वर्गीकरण आवश्यक छ । यस्ता प्रतियोगिता आयोजनाका लागि जसले दुःख गरेका छन््, उनीहरू धन्यवादकै पात्र हुन् ।

अगाडि बढ्दै महिला फुटबल

पछिल्लो समय नेपाली फुटबलमा साँच्चै केही राम्रो भएको त्यो महिला फुटबलमा भएको छ । केही वर्ष अगाडिसम्म धेरै खेलाडीको आरोप हुने गर्थ्यो, उनीहरूले खेल्न पनि पाउँदैनन् । अब त्यस्तो दिन रहेन । यसपल्ट महिला फुटबल लगातार भइरहे । सबैभन्दा पहिले छनोटका खेल सुर्खेतमा भए । त्यसपछि काठमाडौंमै दुई चरणमा लिग भए । झन त्यसपछि प्ले–अफको खेल पनि भयो । अब त महिलाको पनि गोल्डकप हुन थालेको छ ।

अहिले इलाममा महिलाको प्रतियोगिता चलिरहेको छ । अब यस्तै प्रतियोगिता चितवन र नेपालगन्जमा पनि हुनेछ । सबैलाई के थाहा छ भने महिलो फुटबलको अन्तर्राष्ट्रिय सम्भावना धेरै छ । भर्खरै भएको फोर नेसन्स कप कति लोकप्रिय रह्यो, त्यो प्रष्ट छ । अब महिला फुटबललाई उमेर समूहको प्रतियोगिता आवश्यक छ, त्यो पनि लिगकै ढाँचामा । अलिकति बढी मिहिनेत गर्ने हो भने नेपालको एसिया कप यात्रा सम्भव नै छ ।

फुटबल प्रशिक्षकको आगमन

नेपाली पुरुष फुटबलमा एउटा प्रमुख प्रशिक्षकको अभाव थियो । अब त त्यो पनि पूरा भएको छ । नेपालले अस्ट्रेलियाका म्याट रसलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ । उनले टिमको तयारी थालिसकेका छन् । जतिले उनीसँग छोटो संगत गर्ने अवसर पाए, धेरैको अनुभवमा यी प्रशिक्षक फुटबलको सैद्धान्तिक ज्ञानमा उच्च छन् । नेपालको काम हो यस्ता प्रशिक्षकबाट सकेसम्म सक्दो फाइदा लिने । उनी आफैं पनि नेपाली खेलाडीको प्रदर्शनबाट मक्ख छन् ।

हुन् पनि लगातार फुटबल नभएर मात्र हो, नत्र नेपाली फुटबललाई खेलाडीको खाँचो छैन । यू–१६ र यू–१८ स्तरका लिग पनि यसैपल्ट भयो । यी लिगले प्रष्ट पारेको छ, राष्ट्रिय टिममा पर्न सक्ने खेलाडी धेरै छन् । ठ्याक्कै अहिले एकेडेमी फुटबलको सोच कहाँनिर पुग्यो, त्यो प्रष्ट छैन । तर त्यसलाई फेरि पुनरुत्थान गर्न सकिन्छ । रसले ठीकै भनेका हुन्, नेपाली खेलाडीले अवसर नपाएका मात्र हुन्, अन्यता उनीहरूको स्तर पनि कोहीभन्दा कम छैन ।

सच्याउनुपर्ने एन्फा कलह

यति चर्चा गर्दैगर्दा नेपाली फुटबललाई पछाडि धकेल्नमा एउटा प्रमुख कारण एन्फाभित्रको आन्तरिक कलह पनि हो । सबैलाई थाहा छ, एन्फाको कार्यसमितिमै दुई होइन, तीन गुट छन् । नेपाली फुटबलको विडम्बना नै हो, एउटा पक्ष संस्थापनमा पुग्दा अर्को पक्षले त्यसको विरोध गर्छ । पछिल्लो तीन दशकको कथा यही हो । अहिले पनि यस्तै चलिरहेको छ । पुरानो समयको संस्थापन पक्ष ठीक थियो भने अहिलेको संस्थापन पक्ष पनि ठीक छ ।

होइन, त्यति बेलाको विरोधी पक्ष ठीक थियो भने अहिलेका विरोधी पनि ठीक छन् । सार के हो भने यस्तो विवादले कसैलाई फाइदा गर्दैन । अहिलेको संस्थापन पक्षले नेपाली फुटबललाई केही हदसम्म ‘ट्रयाक’ मा ल्याएको छ भने त्यसलाई प्रशंसा नै गर्नुपर्छ । नेपाली फुटबलमा केही पनि नभइरहेको होइन, धेरै भइरहेको छ । तर, त्यसलाई बजारमा बेच्न मात्र नसकिरहेको हो । आन्तरिक विवादलाई केही हदसम्म स्वाभाविक मान्न सकिएला, तर यसले फुटबलको गति रोकिनुहुन्न ।

हिमेश

Link copied successfully