कोहलपुर गोल्डकप : उपाधिका लागि भिड्दै साहारा र राइजिङ स्टार

फाल्गुन २४, २०८१

रुपा गहतराज

Kohalpur Gold Cup: Sahara and Rising Star fight for the title

नेपालगञ्ज — तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधिका लागि कोहलपुर रेसिङ साहारा क्लब र राइजिङ स्टार फुटबल क्लब नवलपरासी भिड्दै छन् । शनिबार हुने फाइनलमा साहारा क्लब र राइजिङ स्टार क्लब नवलपरासी उपाधिका लागि भिड्ने भएका हुन् ।

कोहलपुर रेसिङ साहारा क्लब, बाँकेको आयोजनामा फागुन १७ देखि सुरु भएको गोल्डकपको शनिबार तेह्र विगाह खेल मैदानमा उपाधि भिडन्त हुने भएको हो । दुवै टोली कुनै पनि प्रतियोगितामा पहिलोपटक फाइनलमा आमनेसामने हुँदैछन् । 

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनल पूर्व शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र टिम कोचले आफूले उपाधि जित्नको लागि खेल्ने बताएका छन् । 

आयोजक कोहलपुर रेसिङ साहारा क्लबका कोच रामजित चौधरीले पहिलोपटक फाइनल प्रवेश गरेको र उपाधि जित्ने बताएका छन् । आफ्नो टोली उत्कृष्ट लयमा रहेको भन्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने उनले बताए ।

उपाधि जित्ने आफूहरुको एकमात्र लक्ष्य रहेको कोहलपुर रेसिङ साहारा क्लबका कप्तान  निराजन शाहीको भनाइ थियो । पत्रकार सम्मेलनमा बोल्दै राईजिङ स्टार फुटबल क्लब नवलपरासीका  टिम म्यानेजर धर्मेन्द्र अग्रहरीले आफ्नो टोलीले ट्रफी लिने उद्देश्यसहित फाइनल खेल्ने बताए । 

यस्तै, नवलपरासीका कप्तान विनोद केवटले आयोजक क्लबलाई दर्शक र घरेलु मैदानको सहजता भए पनि आफ्नो टिम एकताबद्ध भएकाले निर्धारित समयमै जित्ने गरेर फाइनल खेल्ने बताएका थिए । उक्त अवसरमा बोल्दै कोहलपुर रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री दुवै टोलीलाई जितको अग्रिम शुभकामना व्यक्त गरे ।

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपका खेल संयोजक कर्ण बस्नेतका अनुसार फाइनलमा प्रति व्यक्ति एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । वृद्धवृद्धा र बालबालिकाको हकमा फाइनलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । गोल्डकपमा आठ वटा टिमको सहभागिता रहेको थियो ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully