फाल्गुनन्द गोल्डकपमा साढे सात लाख रुपैयाँ बढी नाफा

फाल्गुन २३, २०८१

लक्ष्मी गौतम

Seven and a half lakh rupees more profit in Falgunand Gold Cup

पाँचथर — पुष ६ देखि १५ गतेसम्म सञ्चालन भएको एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा ७ लाख ५७ हजार ७ सय ७१ रुपैयाँ नाफा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले बिहीबार फिदिममा पत्रकार सम्मेलनमार्फत् आय व्यय सार्वजनिक गरेको हो ।

प्रतियोगिता सञ्चालनार्थ व्यक्ति, संस्था र सरकारी निकायबाट ८० लाख २९ हजार १ सय ५३ रुपैयाँ आम्दानी भएको क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताका क्रममा ७९ लाख ३ हजार १ सय २ रुपैयाँ खर्च भइसकेको र २ लाख ३५ हजार ३ सय ८ रुपैयाँ तिर्न बाँकी छ । यद्यपि प्रतियोगिता सञ्चालनार्थ विभिन्न स्थानबाट कबुल गरिएको ८ लाख ६७ हजार रुपैयाँ खातामा आउन बाँकी छ भने खातामा १ लाख २६ हजार ५१ रुपैयाँ मौज्दात रहेको छ ।

उक्त रकम प्राप्त भइसक्दा सबै खर्च कठाएर ७ लाख ५७ हजार ७ सय ७१ रुपैयाँ बचत हुने निश्चित भएको अध्यक्ष थापाको भनाइ छ । प्रतियोगिताका लागि कबोल गरेको रकम संकलन गर्न समय लागेकाले आय व्यय सार्वजनिक गर्न ढिलाइ भएको क्लबले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully