पाँचथर — पाँचौं आमन्त्रण पाँचथर गोल्डकप फुटबलको तयारी पूरा भएको छ । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा शनिबार हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र इन्ट्रा पथरी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
प्रतियोगिताका लागि प्यारापिट व्यवस्थापन र मैदानको स्तरवृद्धिलगायतको तयारी पूरा भएको क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । प्रतियोगितामा ए डिभिजन र विभागीय गरी ६ टिमसहित आयोजक र भारतको एक टिमको सहभागिता रहनेछ ।
विजेतालाई ११ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइनेछ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । प्रतियोगितामा ७० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
