विराट गोल्डकप : एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Virat Gold Cup: Police beat APF in semi-finals

विराटनगर — छैटौं विराट गोल्डकपको विजेता सशस्त्र प्रहरीको एपीएफलाई २–० ले हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा जारी ९ औं संस्करणअन्तर्गत बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पूर्वविजेता सशस्त्र प्रहरी बल (एपीएफ)लाई २–० गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पुलिसका लागि अरुण गाहा र मनीष सेढाईंले एक–एक गोल गरे । खेलको ६६औं मिनेटमा उज्ज्वल राईले बायाँ बार च्यापेर निकालेको क्रस पासलाई अरुण गाहाले हेडरमार्फत आकर्षक गोलमा परिणत गरेका थिए । त्यसपछि ८७औं मिनेटमा मनीष सेढाईंले व्यक्तिगत गोल गर्दै टिमको जित सुनिश्चित गरे । 

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने धेरै अवसर गुमाए । खेलको १५औं मिनेटमा एपीएफका बुद्धिमान राईले सुन्दर अवसरलाई गोलमा परिणत गर्न चुके । २०औं मिनेटमा कप्तान हरि कार्कीको प्रहार गोल पोस्टबाट बाहिरियो । ३८औं मिनेटमा एपीएफका एलिक श्रेष्ठले ३० यार्डबाट गरेको प्रहार पुलिसका गोलरक्षक अमित तामाङले निस्तेज पारे । 

दोस्रो हाफमा पुलिसले आक्रामक रणनीति अपनायो भने एपीएफको डिफेन्स कमजोर देखियो । एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसर गुमाउँदा उपाधि रक्षा गर्ने लक्ष्य अधुरै रहन गयो । ७०औं मिनेटमा एपीएफका एन्जल श्रेष्ठको प्रहार बाहिरियो । ७५औं मिनेटमा विश्वास उदासको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि एपीएफका लागि खेलमा फर्किने सम्भावना लगभग सकिएको थियो । 

नेपाल पुलिसका सेढाईं ‘प्लेयर अफ द म्याच’ भए । उनले नगद ११ हजार रुपैयाँ पाए । तेस्रो क्वाटरफाइनल शुक्रवार थ्रीस्टार र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully