विराटनगर — झापाको बाहुनडाँगीमा बुधबारदेखि सुरु भएको इण्डो–नेपाल टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली भारतको सिलिगुडी पेनोरसी–११ विजयी भएको छ । उसले नेपाली टोली ड्रागन–११ लाई ४४ रनले पराजित गर्यो ।
बाहुनडाँगी युवा क्लबको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर पहिलो ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको विशाल स्कोर खडा गरेको थियो । जसमा राकेशले ३३ वल खेल्दै ५३ रनको अर्धशतकीय पारी खेले ।
सुभांकरले ३० बलमा ४५ रन, अरिंदमले १९ बलमा अविजित ४२ रन तथा सोतुले १२ बलमा अविजित १७ रन बनाए । वलिङ तर्फ ड्रागन–११ का लागि मोहन राजवंशीले २ विकेट तथा राजु धमालले १ विकेट लिए । १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा ड्रागन–११ ले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन मात्र जोड्यो ।
ड्रागनका लागि राजभी महतोले सर्वाधिक ३९ रन बनाए । नर्मिल न्यौपानेले १६ बलमा आक्रामक ३४ रन जोडे । मलिन धमालले १५ र अमित दाहालले १४ रनको योगदान दिए । सिलिगुडीका बलर राकेशले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । अरिंदम र देवाशिषले समान २–२ विकेट हात पारे । पाहुना टोलीको घातक वलिङ सामु नेपाली टोली निरीह सावित भयो ।
खेलको उत्कृष्ट खेलाडी भारतीय खेलाडी राकेश भए । मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपाल तथा भारतका १२ टिम सहभागी छन् । विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार पाउने छन् । खेलको फाइनल आगामी आगामी चैत ४ मा हुने छ ।
