बिहीबारको खेलमा नेपाल आर्मीको श्रीमेहर गणलाई टाइब्रेकरमा हराएर बलेवा सेमिफाइनलमा
बागलुङ — बागलुङ जेसिजले आयोजना गरेको ‘तेस्रो जेसिज कप’ फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा नेपाल आर्मीको श्रीमेहर गणलाई टाइब्रेकरमा हराएर बलेवा फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा बलेवाले आर्मीलाई ६ का विरुद्ध ७ गोल हानेर स्तब्ध बनाएको हो । खेलमा बलेवाका गोलरक्षक कुशल नेपाली मेन अफ द म्याच घोषित भए ।
बिहीबारै भएको दोस्रो खेलमा बागलुङ सुधार केन्द्रले जिल्ला प्रहरी कार्यालय बागलुङलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेर सेमिफाइनल प्रवेश गरेको छ । केन्द्रका प्रसन्न श्रेष्ठले ५६ मिनेट र रोशन क्षेत्रीले ८६ औं मिनेटमा गोल गरे ।
शुक्रबार बलेवाले गुठी युनाइटेडसँग र केन्द्रले पर्पल हेजसँग सेमिफाइनल खेल खेल्नेछ ।
फाइनल खेल भने शनिबार हुनेछ । खेलमा प्रथम हुनेले २ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले १ लाख पाउने आयोजक बागलुङ जेसिजका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए । खेलमा ११ टिम सहभागी छन् ।
