घोराही — घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा बुधबार रोयल सिस्ने क्लब, न्यु होराइजन क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् ।
रोयल सिस्नेले लगातार दुई खेल जित्दा गोरखा स्कुल, होराइजन र मणिमुकुन्दले एक/एक खेलमा जितेका छन् । रोयल सिस्नेले मणिमुकुन्द भलिबल क्लबलाई २६–२४, २५–१८ ले र दाङ सोसाइटी क्लबलाई २५–२०, २५–२१ को सोझो सेटमा हरायो । होराइजनले गोरखा माविलाई २५–१०, २५–१७ ले हराएको थियो ।
गोरखा माविले दंगीशरण गाउँपालिकालाई २५–१६, २५ १८ को सोझो सेटमा हरायो । दिनको अन्तिम खेल रोमाञ्चक बन्यो । २–१ को सेटमा मणिमुकुन्दले दाङ सोसाइटी क्लबलाई हरायो । मणिमुकुन्दले २५–१८ ले पहिलो सेटमा अग्रता लिँदा दाङले १५–२३ को स्थितिबाट पुनरागम गर्दै २५–२३ सेट आफ्नो पक्षमा पारे खेल बराबरीमा ल्यायो । तर तेस्रो सेटमा मणिमुकुन्दले अवसर गुमाएन । टोलीले १५–१० ले नतिजा निकाल्यो ।
मणिमुकुन्दले अर्को चरणको सम्भावना कायम राखेको छ भने दाङ सोसाइटी बाहिरिएको छ । विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख २५ हजार, तेस्रो हुने टिमले ५० हजार पुरस्कार जित्नेछन् ।
