अस्ट्रेलियाका कप्तान स्मिथले लिए एक दिवसीयबाट सन्यास

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Australian captain Smith retired from ODIs

काठमाडौँ — च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । 

क्रिकेट अस्ट्रेलियाका तर्फबाट जारी बयानमा मंगलबार भारतविरुद्धको सेमिफाइनलमा सर्वाधिक रन बनाए पनि स्टिभ स्मिथले एक दिवसीयबाट सन्यास लिने घोषणा गरेको उल्लेख छ । खेल सकिएलगत्तै उनले सन्यासका बारेमा टिमसँग कुरा गरेको बयानमा बताइएको छ । 

अब उनी अस्ट्रेलियाका लागि टेस्ट र टी–२० फर्म्याटमा भने उपलब्ध हुनेछन् । सन् २०१० मा वेस्टइन्डिजविरुद्ध लेग स्पिन अलराउन्डरका रुपमा उनले डेब्यू गरेका थिए ।

१७० एक दिवसीय खेल खेलेका स्मिथले ४३ दशमलव २ रेनरेटमा ५८०० रन बनाएका छन् । जसमा १२ शतक र ३५ अर्धशतक छन् । यसका साथै उनले वान डे करिअरमा २८ विकेट पनि लिएका छन् ।

स्मिथ २०१५ र २०२३ आईसीसी एक दिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टिमका सदस्यसमेत हुन् । २०१५ मा उनलाई अन्तर्राष्ट्रिय एक दिवसीय टिमको कप्तान बनाइएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully