सन् २०२३ को विश्वकपको फाइनलमा व्यहोरेको हारको बदला लिने मौकाका रुपमा भारतले आजको सेमिफाइनललाई लिएको छ
काठमाडौँ — पाकिस्तानले आयोजना गरेको च्याम्पियन्स ट्रफी अन्तर्गत आज सेमिफाइनलको पहिलो खेल हुँदैछ । जहाँ विश्व क्रिकेट वरीयताका दुई शीर्ष टोली एक आपसमा भिड्दैछन् ।
फाइनल पुग्नका लागि भारत र अस्ट्रेलियाबीचको खेल रोमाञ्चक हुनेछ । आयोजक पाकिस्तान भए पनि खेल भने दुबईमा हुनेछ । खेल आज दिउँसो दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार २:४५ देखि सुरु हुनेछ ।
आईसीसी टुर्नामेन्टको नकआउटमा दुवै टिमको यो भेट नवौंपटक हो । यसअघि पहिले भएका भिडन्तमा दुवै टिमले ४/४ जित निकालेका छन् ।
सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलमा दुवै टिमको अन्तिम भेट थियो । जहाँ आयोजक भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।
आजको खेललाई भारतले उक्त हारको बदला लिने मौकाका रुपमा पनि हेरिएको छ । भलै विश्वकप नभए पनि विश्व क्रिकेटका ८ वटा शीर्ष टोलीहरु सम्मिलित च्याम्पियन्स ट्रफी पनि विश्वकपभन्दा कम छैन ।
यस्तो छ हेड टु हेड
एक दिवसीयमा भारत र अस्ट्रेलियाबीच हालसम्म १५१ खेल भएका छन् । जसमा ५७ मा भारतले जित निकालेको छ भने ८४ मा अस्ट्रेलिया विजयी भएको छ । जहाँ १० खेल नतिजाविहीन रहे ।
दुबईमा भने यी दुई टिमको भेट पहिलो हो । पाकिस्तान जान नमानेपछि भारतका सबै खेल दुबईमै तोकिएका थिए । समूहचरणका तीनवटै खेल भारतले दुबई स्टेडियममै खेल्यो ।
अस्ट्रेलियाले भने समूहचरणका सबै खेल पाकिस्तानमा खेल्यो । एक दिवसीय फर्म्याटमा आईसीसीका दुई प्रतियोगिता हुन्छन् । जसमा पहिलो विश्वकप र अर्को हो च्याम्पियन्स ट्रफी । यी दुवै प्रतियोगितामा अहिलेसम्म अस्ट्रेलिया र भारतले १८ पटक प्रतिस्पर्धा गरेका छन् । ७ खेलमा भारत विजयी हुँदा १० मा अस्ट्रेलिया विजयी भयो । एक खेल भने नतिजाविहीन बन्यो ।
नकआउट चरणको यो नवौं भेट हो । यसअघिका आठ भेटमा दुवै टिमले चार/चार पटक जित हात पारेका छन् ।
जारी च्याम्पियन्स ट्रफीमा भारतका लागि दुई खेलाडीले शतक प्रहार गरेका छन् । शुभमन गिल र विराट कोहली । श्रेयस अय्यरले पाकिस्तान र न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
तीन खेलमा उनले १५० रन बनाउँदै टिमका टप स्कोररसमेत हुन् । बलिङमा मोहम्मद शमी, वरुण चक्रवर्ती र कुलदीप यादवले ५/५ विकेट लिएका छन् । जसमा वरुणले समूह चरणको अन्तिम खेलमा न्युजिल्यान्ड एकै खेलमा पाँच विकेट लिएका थिए ।
समूचरणमा अस्ट्रेलियाले भने एउटा खेल मात्र पूरा खेल्न पायो । इङ्ग्ल्यान्डविरुद्ध पाँच विकेटले विजयी भएको अस्ट्रेलियाका अन्य दुईखेल दक्षिण अफ्रिका र अफगानिस्तानसँग पूरा नतिजा निस्किन सकेन । अस्ट्रेलियाका लागि जारी प्रतियोगितामा जोश इङ्लिसले सर्वाधिक रन बनाएका छन् । इङ्ग्ल्यान्डविरुद्ध उनले १२० रन बनाए । यस्तै बेन ड्वारशस ६ विकेटका साथ टप बलर रहेका छन् ।
भारतीय टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, हर्षित राणा/वरुण चक्रवर्ती र मोहम्मद शमी।
अस्ट्रेलिया : स्टीव स्मिथ (कप्तान), ट्रविस हेड, ज्याक फ्रेजर म्यागर्क/कूपर कोनोली, मार्नस लबुशेन, जोश इङ्ग्लिस (विकेटकिपर), एलेक्स क्यारी, ग्लेन म्याक्सवेल, नाथन एलिस, बेन ड्वारशस, एडम जम्पा र तनवीर संघा।
