तनहुँ — नवलपुरको बौदिकाली गाउँपालिकाले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा बौदिकालीले शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित हरायो । विजेता टिमले २२–२५, २५–२१, १६–२५, २५–१८, १५–१० को सेटमा नतिजा निकाल्यो ।
बौदिकालीले २ लाख र शुक्लागण्डकीले १ लाख रुपैयाँ पुरस्कार जिते । सेमिफाइनलमा शुक्लागण्डकीले स्याङजाको हरिनाश गाउँपालिका र बौदिकालीले पुतलीबजार नगरपालिकालाई हराएर फाइनल पुगेको थियो । हरिनाशलाई हराएर पुतलीबजारले तेस्रो स्थान हात पार्दै ५० हजार जित्यो । चौथो भएको हरिनाशले २५ हजार पायो । प्रतियोगितामा गण्डकीका १३ पालिकाको सहभागिता थियो ।
