काठमाडौँ — दुई पल्टको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सोमबार केपी ओली कप-२०८१ को उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा मच्छिन्द्रले आर्मीलाई २-० ले पराजित गरेको हो । यससँगै मच्छिन्द्रले प्रतियोगितामा उपाधिको ह्याट्रिक गरेको छ ।
खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता लिएको थियो र विमल पाण्डेको आत्मघाती गोलले सम्भव भएको थियो । विमलले सनीष श्रेष्ठको प्रहार क्लियर गर्ने प्रयासमा बलले दुर्भाग्यपूर्ण रूपमा पोस्टको दिशा लिएको थियो ।
स्टेफन जलीले ७२ औं मिनेटमा दोस्रो गोल थपे । उपाधिको निर्णायक भिडन्तमा आर्मीले बलियो चुनौती पेस गर्न सकेन । मच्छिन्द्रले खेलको पहिलो हाफ लगभग आफ्नो नियन्त्रणमा राखेको थियो ।
