मछिन्द्रसामु दुर्लभ अवसर

दुईपल्टको डिफेन्डिङ च्याम्पियनलाई रोक्नुपर्ने चुनौतीमा आर्मी

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

A rare opportunity before Machindra

काठमाडौँ — कुनै समय नेपाली फुटबलमा चलन थियो, लगातार कसैले तीनपल्ट उपाधि जित्यो भने ट्रफी नै उसको हुने । अब यस्तो रहेन । उसै पनि लगातार तीनपल्ट उपाधि जित्ने क्रम देखिन छाडेको छ । केपी ओली कप फुटबलको सोमबार दशरथ रंगशालामा हुने फाइनलमा मछिन्द्रसामु यस्तै दुर्लभ अवसर हुनेछ, उपाधिको ह्याट्रिक गर्ने ।

उपाधि जित्नुभन्दा त्यसलाई रक्षा गर्नु गाह्रो मानिन्छ, यस्तोमा के दुईपल्टको डिफेन्डिङ च्याम्पियनलाई आर्मीले गाह्रो पार्नेछ त ? मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपाने मान्छन्, उनको क्लब तयार छ । तर, डिफेन्डिङ च्याम्पियन भएकै कारण दबाब पनि छ । उनी यति भने दाबी गर्छन्, ‘हामी ९० मिनेटमै खेल जित्ने प्रयासमा हुनेछौं ।’

त्यसको अर्थ मछिन्द्रलाई टाइब्रेकरमा रुचि छैन । कप्तान विशाल श्रेष्ठ आफ्नो टिम राम्रो खेल्दै उपाधि जित्ने प्रयासमा रहने बताउँछन् । उनको अनुभवमा जति–जति बेला मछिन्द्र र आर्मी भिड्ने गर्छन्, त्यति बेला खेलको अन्त्यतिर यो असाध्यै रोमाञ्चक हुनेछ । विशाललाई विश्वास छ, यसपल्टको फाइनल पनि यस्तै हुनेछ ।

मछिन्द्रले सेमिफाइनलमा केपी ओली एफसीलाई हराएको थियो । त्यस अगाडि उसको जित भुटान एफसी ट्रान्सपोर्ट युनाइटेडविरुद्ध थियो । आर्मीले भने पहिलो खेलमा पुलिसलाई हराएको थियो । सेमिफाइनलमा उसको जित संकटाविरुद्ध थियो । मछिन्द्रका आफ्नो समकक्षी प्रशिक्षकभन्दा अनुभवमा धेरै अगाडि रहेका आर्मीका मेघराज केसी मान्छन्, दुवै टिम राम्रो भएर नै फाइनल पुगेका हुन् ।

त्यसैले फाइनल राम्रो हुने अपेक्षा गर्न सकिन्छ । उनको विश्लेषण रहेको छ, मछिन्द्रको राम्रो भनेको विदेशी र नेपाली खेलाडीको बलियो समिश्रण हो । अनि आर्मीको बलियो पक्ष भनेको युवा खेलाडीको जोस । उनी भन्छन्, ‘यसअघिका दुई खेलमा देखिएका कमजोरीलाई सुधारेर खेल्नेछौं । मछिन्द्रको बलियो पक्षलाई रोकेर उसको कमजोर पक्षमा धावा बोल्नेछौं ।’

उनी नयाँ खेलाडीलाई लिएर आर्मी टिम बनाउने योजनामा छन् र नतिजा पनि बिस्तारै आउँदै जाने मान्छन् । आर्मीका कप्तान जिलेप्सीजंग कार्की आफ्नो प्रशिक्षककै रणनीतिअनुसार खेल्ने मान्छन् । उनी भन्छन्, ‘सबैले मिहिनेत गरेर नै हामी यहाँसम्म पुगेका हौं । फाइनलका लागि योजना बनाएका पनि छौं र त्यसैअनुसार खेल हुनेछ ।’ 

कान्तिपुर

Link copied successfully