कोहलपुर गोल्डकप : कोहलपुर रेसिङ स‍हाराको विजयी सुरुवात

फाल्गुन १८, २०८१

रुपा गहतराज

Kohlpur Gold Cup: Kohlpur Racing Sahara gets off to a winning start

नेपालगन्ज — तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा फुटबल क्लबले विजयी सुरुवात गरेको छ । खेलमा लुम्बिनी फुटबल एडेकेमीलाई २–० गोल अन्तरले हराउँदै आयोजक टिमले विजयी सुरुवात गरेको हो ।

कोहलपुर रेसिङ सहारा फुटबल क्लबलाई जिताउन पहिलो हाफको २१ औं मिनेटमा निराजनजंग शाहीले पहिलो गोल गरेका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा क्षितिज थापाले दोस्रो गोल गरे । पहिलो खेलमा आफ्नो टिमलाई जिताउन पहिलो गोल गरेका कोहलपुर रेसिङ साहारा फुटबल क्लबका निराजनजंग शाही 'म्यान अफ द म्याच' घोषित भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । अफ्रिकन राष्ट्र घानाको घाना फुटबल क्लब, भारतको सहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काँक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ ।

कोहलपुर रेसिङ सहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully