तोरण १२ वर्षपछि च्याम्पियन

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Toran champion after 12 years

काठमाडौँ — तोरणविक्रम शाहीले सुरुदेखिको आफ्नो अग्रता जोगाउँदै शुक्रबार सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्समा भएको प्रतियोगितामा ५ अन्डर ६७ को स्कोरसहित समग्रमा १८ अन्डर २७० बनाएर तोरणले निकट प्रतिस्पर्धी नीरज तामाङलाई एक स्ट्रोकले पछाडि पार्दै उपाधि जिते ।

उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन् । यसअघि सन् २०१३ मा यही प्रतियोगिता जितेका थिए । तोरणले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनको करियरको यो तेस्रो उपाधि हो ।

च्याम्पियन तोरणजत्तिकै ५ अन्डर ६७ स्कोर गरेका नीरज समग्रमा १७ अन्डर २७१ सहित दोस्रो भए । उनले १ लाख प्राप्त गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले दिनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ७ अन्डर ६५ को स्कोर बनाए । समग्रमा १३ अन्डर २७५ सहित उनी तेस्रो भए । यही स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते । उनले राहुल बिकलाई ९ स्ट्रोकले हराएका थिए ।

समग्रमा ३ अन्डर ६९ स्कोरसहित समग्रमा ५ अन्डर २८३ सञ्जय लामा चौथो भए । प्रोतर्फ तेस्रो भएका उनले ७५ हजार पाए । एमेच्योर गल्फर राहुल समग्रमा पाँचौं भए । राहुलले शुक्रबार २ ओभर ७४ स्कोर गरे । उनले समग्रमा ४ अन्डर २८४ को स्कोर बनाएका थिए ।

दिनेश प्रजापति समग्रमा ३ अन्डर २८५ सहित छैटौं भए । उनले इभन पार ७२ को स्कोर गरे । प्रोतर्फ चौथो भएका दिनेशले ६३ हजार जिते । नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले शुक्रबार ३ ओभर ७५ सहित समग्रमा १ अन्डर २८७ स्कोर गरे । प्रोतर्फ पाँचौं भएर ५३ हजार जिते ।

जयराम श्रेष्ठले भने बिर्सनलायक ८ ओभर ८० को स्कोर बनाए । उनी समग्रमा ३ ओभर २९१ सहित आठौं भए । प्रोतर्फ उनले छैटौं भई ४६ हजार जिते । टंकबहादुर कार्की समग्रमा ४ ओभर २९२ सहित नवौं भए । प्रोतर्फ सातौं भएर उनले ४२ हजार जिते । समग्रमा ८ ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्य प्रसाद शर्मा दसौं भए । उनीहरू प्रोतर्फ आठौं भएर ३६ हजार ५ सय हात पारे ।

फाइनल दिन खेल सुरु गर्दा तोरण एक स्ट्रोकले मात्र नीरजभन्दा अगाडि थिए । नीरजले कडा चुनौती दिए । फ्रन्टनाइनमा तोरणले तेस्रोदेखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्टनाइन ३ अन्डर ३३ मा सके । नीरजले चौथो र नवौं होलमा शट बचाएर फ्रन्टनाइन २ अन्डर ३४ मा पूरा गरे । फ्रन्टनाइन समाप्तिमा तोरण २ स्ट्रोकले अघि रहे ।

यसपछि नीरजले १४ र १५ औं होलमा लगातार दुई बर्डीको सफलता पाए । तोरण थप दबाब रहे । लगत्तै उनले १६ औं होलमा बोगी खेपे र २ स्ट्रोकले पछि परे । १७ औं होलमा बर्डी प्रहार गर्दै पुनः अग्रता १ स्ट्रोकमा झारेर १८ औं होललाई रोमाञ्चक बनाए । अन्तिम होलमा दुवैले पार खेले । तोरण १ स्ट्रोकले १२ वर्षपछि च्याम्पियन बन्न सफल भए । विजेतालाई सूर्य नेपाल प्रालिका विदुरराज अधिकारी र एनपीजीएका अधयक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार तथा ट्रफी प्रदान गरे ।

कान्तिपुर

Link copied successfully