भद्रपुर गोल्डकपमा आयोजक ब्लेजर्सलाई उपाधि 

फाल्गुन १७, २०८१

पर्वत पोर्तेल

The title to host Blazers in the Bhadrapur Gold Cup

भद्रपुर — आयोजक भद्रपुर ब्लेजर्स नै भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । आयोजकले ट्रफीसहित १३ लाख रुपैयाँ जित्यो । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार फाइनलमा आयोजकले झापा ११ एफसीलाई २–० गोलले हराएको थियो । दुवै घरेलु टोलीबीचको प्रतिस्पर्धा रोचक बनेको थियो ।

खचाखच दर्शक उपस्थितिमा भद्रपुरले खेलको ३० औं मिनेटमा अग्रता लियो । मिलन राईको छोटो पासमा कप्तान आशिष चापागाईंले प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो । त्यसपछि इन्ज्युरी समयमा भद्रपुरका लागि सत्यम् शर्माले गोल थपेर जित सुनिश्चित गरे । अवायोमीको हेड बलमा २५ यार्डको दूरीबाट गरेको सत्यम्को सशक्त प्रहार गोलमा परिणत भयो ।

खेलको १४ औं मिनेटमा भद्रपुरका विवेक पौडलको प्रहार क्रसबारबाट बाहिरियो । खेलको ४० औं मिनेटमा भद्रपुरका कुलदीप कार्कीले लामो दुरीमा गरेको प्रहारविदेशी खेलाडी अवायोमीको हेडरलाई झापाका गोलकिपर सन्दीप लिम्बूले बचाए ।

खेलको ५२ औं मिनेटमा अवायोमीको पासमा मिलन राईको प्रहार सन्दीपले नियन्त्रणमा लिए । झापाका रोहन कार्की खेलको १८ औं मिनेटमा चुके । खेलको २३ औं मिनेटमा समीर तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

समीर तामाङले खेलको ४३ औं मिनेटमा खेल बराबरी ल्याउने अवसर गुमाए । बबिन बोहराको पासमा समीरको प्रहार बारमा लागेर फर्कियो । खेलको ७८ औं मिनेटमा हरिबहादुर आले मगरले बक्सभित्रबाट गरेको सशक्त प्रहार पनि सफल भएन । प्लेयर अफ द म्याच भद्रपुरका विशाल दर्जी भए । उनले २१ हजार र ट्रफी पाए । सर्वोत्कृष्ट खेलाडी भद्रपुरका कप्तान आशिष चापागाईं भए । उनले १ लाख ५ हजार र ट्रफी पाए ।

उदीयमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, सर्वाधिक गोलकर्ता भद्रपुरका सत्यम् शर्मा र उत्कृष्ट प्रशिक्षक भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरूले जनही २५ हजार पुरस्कार पाए । फाइनलमा भाग्यशाली दर्शकमा भोजपुरका एन्जल चर्मकारले टीभीएस राइडर मोटरसाइकल जिते । भद्रपुरका विक्रम बरालले सुनको सिक्री र भद्रपुरका राजेशकुमार गुप्ताले ५० हजार नगद पाए ।

विजेतालाई आयोजक क्लबका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीलगायत पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टीकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पुरस्कार वितरण गरे । यस पटकको प्रतियोगिता हालै दिवंगत पूर्वफुटवलर गम्भीर राईप्रति समर्पित थियो ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully