तेस्रो संस्करणको बागलुङ जेसीज कप हुने

फाल्गुन १७, २०८१

प्रकाश बराल

The 3rd edition of the Baglung Jaycees Cup will be held

बागलुङ — बागलुङ जेसीजको आयोजनामा तेस्रो संस्करणको जेसीज कप फुटबल हुने भएको छ । जेसीज वर्ष २०२५ को बागलुङ शाखाले यही फागुन १९ देखि २४ गतेसम्म जेसीज कप फुटबल आयोजना गर्न लागेको शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले जानकारी दिए ।

खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेलाई १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइने छ । त्यस्तै खेलमा विधागत उत्कृष्ट हुने खेलाडीलाई पनि ५/५ हजार नगद पुरस्कार दिइने भएको हो । सेमीफाइनल पुग्ने टिमले १५ हजारका दरले पुरस्कार पाउनेछन् । 

खुला भनिए पनि साविकको धौलागिरि क्षेत्रका टिमबीच खेल हुनेछ । खेलमा ११ टिम सहभागी हुने आयोजकले बताए । 

जेसीजले खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । पहिलो खेल बलेवा फुटबल क्लब र हाइकर्स युनाइटेडले खेल्नेछन् । नेपाली सेनाको श्रीमेहर गण र जिल्ला प्रहरी कार्यालय बागलुङले पनि खेलका लागि टिम दर्ता गरेको छ । खेलमा बढीमा ३ जनासम्म विदेशी खेलाडीसमेत राख्न पाउने छुट छ । खेलका लागि १२ लाख खर्च हुने आयोजकले बताए ।

यसअघिको संस्करणमा सेनाको श्रीमेहर गण र बागलुङ सुधार केन्द्र विजयी बनेका थिए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully