संकटालाई रोक्दै आर्मी फाइनलमा

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Army in the final by stopping Sankata

काठमाडौँ — त्रिभुवन आर्मी क्लब शुक्रबार केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल पुग्ने पहिलो टिम बनेको छ । दशरथ रंगशालमा शुक्रबार सेमिफाइनलमा आर्मीले संकटाको चुनौतीलाई २–१ ले समाप्त पारेको थियो ।

अब उपाधि भिडन्तमा आर्मीले आयोजक टिम केपी ओली एफसी र मछिन्द्रबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरेका थिए । संकटाबाट भीषण गुरुङले एक गोल फर्काएका थिए ।

खेलको नवौं मिनेटमै आर्मीले अग्रता लिएको थियो । जिलेस्पीजंग कार्कीको पासमा नवयुगले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । आर्मीका लागि दोस्रो गोल ६६ औं मिनेटमा पेनाल्टीबाट सम्भव भएको थियो ।

जिलेस्पीलाई अभिषेक लामाले लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सब्स्टिच्युट भीषणले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए । पोस्टमा लागेर फर्केको बलमा उनले गोल गरेका हुन् । तर, यो सान्त्वना गोलभन्दा बढी सावित भएन ।

बुफोन मुख्य अतिथि

इटालीका लिजेन्ड गोलरक्षक जियानलुइजी बुफोनले भिडियो सन्देशमार्फत प्रतियोगिताका क्रममा आफू मुख्य अतिथिका रूपमा काठमाडौं आउन लागेको बताएका छन् । उनले सन्देशमा भनेका छन्, ‘नमस्ते सबैजनालाई । म बुफोन । मार्च पहिलो साता म नेपाल आउँदै छु र केपी ओली कप फाइनलको मुख्य अतिथि हुनेछु ।’ उनले थपेका छन्, ‘सबैलाई त्यही भेटौंला ।’

कान्तिपुर

Link copied successfully