उपाधि दबाबमा जेलिएको महिला फुटबल

म्यानमारले फोर नेसन्स कपको भरपूर फाइदा उठायो, प्रशिक्षक तेत्सुरो उकीले खेलाडी ‘रोटेसन’ यस्तो गरे कि सबै खेलाडीले खेल्न पाए जबकि यस्तै काम नेपालले गर्नुपर्ने थियो 

फाल्गुन १६, २०८१

हिमेश

Women's football trapped under title pressure

काठमाडौँ — सबैभन्दा पहिले साढे एक दशक पुरानाको प्रसंग । सन् २०११ मा काठमाडौंमा भएको एएफसी यू–१६ पुरुष फुटबल च्याम्पियनसिपको छनोटमा नेपालले साउदी अरेबियालाई १–१ को बराबरीमा रोकेको थियो । समूह ‘डी’ उक्त खेलपछि नेपालसँगै साउदी अरेबिया छनोट चरणबाटै बाहिरियो ।

ओमान र सिरिया अन्तिम चरणमा पुगेका थिए । साउदी अरेबियाको फुटबलका लागि एक किसिमले स्तब्धपूर्ण नतिजा नै थियो । तर, साउदी प्रशिक्षक ओमर अबुल्लाह बाखसविन त्यति निराश देखिएनन्, जति देखिनुपर्ने थियो । 

साउदी फुटबलका निकै अनुभवी प्रशिक्षक बाखसविनको नेपाली मिडियासामु प्रस्तुत गरेको तर्क थियो, ‘उमेर समूहको फुटबल यो खेलको विकासका लागि हो, जितमा मात्रै ध्यान दिनु आवश्यक छैन ।’ लामो कुराकानी गर्नेक्रममा उनले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पनि खेलाडीलाई जितकै लागि धेरै दबाब दिन नहुने बताएका थिए । उनै प्रशिक्षकका अनुसार मैत्रीपूर्ण फुटबल पनि यो खेलको विकासका लागि हुनुपर्छ । जित्नकै लागि त अरू प्रतियोगिता छँदै छन् । 

यो सबै चर्चा किनभन्दा भर्खर सकिएको फोर नेसन्स कप इन्टरनेसनल महिला च्याम्पियनसिपमा नेपालको मुख्य उद्देश्य नै उपाधि जित्नुमा केन्द्रित रहेको देखियो । प्रतियोगितामा टिकेर खेलको विकासतर्फ कम सोचियो । सबैलाई के थाहा छ भने यो कुनै आधिकारिक प्रतियोगिता होइन । यो त मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको विस्तारित रूप थियो । जितेको भए असाध्यै राम्रो हुन्थ्यो । तर, हार्दा पनि केही ब्रिगेको छैन । समस्या के रह्यो भने उपाधि जित्नैपर्छ भनेर खेलेको देखियो । 

नतिजा अत्यधिक दबाबकै बीच नेपाल फाइनलमा म्यानमारको हातबाट २–० ले पराजित रह्यो । नेपालले खेलेको यो १३ औं फाइनल थियो । नेपाल आफूले खेलेको लगभग सबै प्रतियोगिताको फाइनल त पुग्छ, तर जित्न सक्दैन । यसमा साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदअन्तर्गतका महिला फुटबल स्पर्धाहरू पर्छन् । प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित रेनुका नगरकोटे मिडियासामु प्रस्तुत हुँदै साह्रै निराश देखिन्थिन् । बोल्दा उनको स्वर नै दबेजस्तो थियो । 

यही नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणमा किर्गिस्तान र लेवनानविरुद्धको खेल जितिसकेपछि समान एउटै प्रतिक्रिया दिए । त्यो थियो, ‘नेपाली महिला फुटबललाई जित चाहिन्छ ।’ साफ च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग पराजित भइसकेपछि उनले जे जस्तो दाबी र तर्क प्रस्तुत गरेका थिए । अहिले उनी त्यसबाटै पछि हटेजस्तो देखिन्छन् । उनी आफैं केही हदसम्म अन्योलग्रस्त छन् । 

त्यस दिन उनले सबैभन्दा बढी जोड दिएको नयाँ पुस्ताका खेलाडीमै थियो । केही पुराना खेलाडीको आलोचना पनि गरे अनि भावनामा बगेर राजीनामा पनि दिएका थिए । तर, फेरि अहिले फोर नेसन्स कपको राष्ट्रिय टिम सम्हाल्ने अवसर छाडेनन् । यति गर्दागर्दै उनले फोर नेसन्स कपका क्रममा टिममा पुस्ताको रूपान्तरण गर्न सक्ने मौका छोपेनन् । जितमै मात्र बढी जोड दिए । उनले नेपाली टिम सम्हालेको यो तेस्रोपल्ट हो । 

Women's football trapped under title pressure

उनी आएयता नेपालले तीन फाइनल खेलिसकेको छ । त्यसमध्ये साफ व वाफ दुवै औपचारिक प्रतियोगिता हुन् । प्रशिक्षकका रूपमा उनको चयनमा धेरै प्रश्न गर्नुपर्ने ठाउँ नहुन सक्छ । उनकै भनाइ सापटी लिने हो भने सम्भवतः अबको फिफा विन्डोमा हुने खेलका प्रशिक्षक उनी नै हुनेछन् । समस्या कहाँनिर छ भने फोर नेसन्स कपका क्रममा उनले जितलाई मात्र बढी ध्यान दिएनन्, टिममा गर्न सकिने अनेक प्रयोग र नयाँ खेलाडीलाई दिन सकिने अवसरमा चुकेका छन् । 

उनले साफ च्याम्पिनयसिपका क्रममा केही खेलाडीको आलोचना गरे पनि अहिले प्रतियोगिताका लागि लगभग त्यही टिम छाने । नेपालले चार खेल खेलेकामा खेलाडीको ‘रोटेसन’ पनि गरेनन् । नयाँ खेलाडी मनमाया दमाई र सुष्मा तामाङलाई न त डेब्युको अवसर दिए । अनिता केसीमात्र नभएर उषा नाथ र सरस्वती हमाललाई पनि बेन्चमै सीमित पारे । चार खेलमा ९ सब्स्टिच्युट मात्रै प्रयोग गरे । जबकि पाउने सुविधा २० पटक बराबर हुन सक्थ्यो । 

म्यानमारविरुद्धको लिग चरणको खेलमा त एकै खेलाडी मात्र सब्स्टिच्युट भएको थियो । त्यस खेलअगाडि नै नेपाल फाइनल पुगिसकेको थियो । जित वा हारको ठूलो महत्त्व नहुन सक्थ्यो । तर त्यस खेलमा असाध्यै धेरै गम्भीर हुँदै कुनै जोखिम उठाउने काम भएन । यसो गर्दा पनि फाइनल त जितिएन ? अझ एन्फा वुमेन्स लिगमा उत्कृष्ट गोलरक्षक रहेकी सावित्रा किसनलाई २३ खेलाडीको सूचीमै राखेनन् । तेस्रो रोजाइको गोलरक्षकमा नयाँ र उदीयमान खेलाडीलाई जति मौका दिनु अरू राम्रो मानिन्न । 

उपाधि हात पारेको म्यानमारले भने फोर नेसन्स कपको भरपूर फाइदा लिएको देखियो । जापानी प्रशिक्षक तेत्सुरो उकीले ४ खेलमा खेलाडीको यसरी ‘रोटेसन’ गरे कि टिमका सबै खेलाडीले खेल्न पाएको स्थिति रह्यो । अन्त्यमा के देखियो भने यो फोर नेसन्स कप त खासमा म्यानमारलाई सजिलो होस् भनेर खेलाइएको प्रतियोगिता जस्तो पो भयो । जबकि यस्तै काम गर्नुपर्ने नेपालले थियो । सायद फाइनल अगाडि आफैंले आफैंलाई उपाधि जित्न दबाब नदिएको भए, आरामले खेलेको भए, नेपाल नै च्याम्पियन पो हुन्थ्यो कि ? 

आफैंले अत्यधिक दबाब सिर्जना गर्नेमा कप्तान एन्जिला तुम्बापो सुब्बा पनि पर्छिन् । फाइनलअघि उनी भनिरहेकी थिइन्, ‘यसपल्ट त उपाधि घरमै राख्ने हो ।’ फाइनल हारिसकेपछि रिसले आफ्नो ‘ग्लोब्भ्स’ भुइँमा फाल्ने उनी नै थिइन् । 

त्यसको अर्को दिन एन्जिलाले सामाजिक सञ्जालमा लेखिन, ‘म सबै समर्थकसँग माफी माग्न चाहन्छु । खेलाडीको आलोचना नगरिदिनुहोला ।’ खेलाडीको आलोचना त गर्नै हुन्न, जति सुविधा र अवसरबीच नेपाली महिला खेलाडीले खेलिरहेका छन्, त्यो नै ठूलो हो ।

हिमेश

Link copied successfully