कपिलवस्तु — थ्रीस्टार 'दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता'को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन हनामी बीएफसी चितवनलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४ औं मिनेटमा आशिष गुरुङले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए ।
अश्विन तामाङले खेलको ७६ औं मिनेटमा गोल गरेर हनामीलाई खेलमा फर्काएपछि खेलको निर्णय टाइब्रेकरबाट हुन पुगेको हो । टाइब्रेकरमा थ्रीस्टारका लागि मुकुन्द्रकुमार निउरी, गौरव महर्जन, आशिष गुरुङ र सुबित कार्कीले गोल गरे भने भगवत चौधरीको प्रहार हनामीका गोर रक्षक मनोज गुरुङले रोकिदिए । हनामीका लागि नरेन्द्र चौधरी र आयुष मगरले मात्र गोल गरे भने जय गुरुङ र दीपेश गुरुङको प्रहार थ्रीस्टारका गोलरक्षक आशिष ठाडामगरले ब्लक गरिदिए । हनामीको दुई प्रहार ब्लक गरिदिएर थ्रीस्टारको जितमा नायक बनेका आशिष नै ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
अब थ्रीस्टार सेमिफाइनलमा आइतबार संकटा एफसीसँग भिड्नेछ ।
शनिबार दिउँसो ३ बजे जोन्जी एफसी सिक्किम र नेपाल पुलिसबीच खेल हुने जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले बताए । जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुशिल सिंह ठकुरीले जानकारी दिए ।
जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा बाणगंगाको बुद्ध रंगशालामा फागुन १४ गतेदेखि सुरु गोल्डकपको फाइनल फागुन २१ गते हुनेछ ।
