फाइनल जित्ने कहिले ?

दशरथ रंगशालामा बुधबार फोर नेसन्स कप फाइनलमा म्यानमारसाग पराजित भएपछि नेपालको पहिलो उपाधि जित्ने सपना अधुरै 

फाल्गुन १५, २०८१

हिमेश

When to win the final?

काठमाडौँ — नेपाली फुटबललाई उपाधिको उत्तर अझै प्राप्त भएन । साँच्चै, नेपाली महिला राष्ट्रिय टोलीले उपाधि जित्ने कहिले ? एकपल्ट होइन, दुईपल्ट होइन, नेपाली टोली १३ औं पटक फाइनलमा पराजित भएको छ ।

दशरथ रंगशालामा फोर नेसन्स कप इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको बुधबार सम्पन्न फाइनलमा नेपाली टिम म्यानमारसँग माथ खाएको हो । यससँगै नेपाली महिला टिममा फेरि एकपल्ट दुःख र निराशा छाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित रेनुका नगरकोटे भन्छिन्, ‘मलाई त असाध्यै राम्रो अनुभव भइरहेको छ ।’

उनकै शब्दमा खेलाडीहरूले मिहिनेत नगरेका पनि होइनन्, तर खेलाडीले आफ्नो पूरा खेलजीवन खर्चिसकेका छन् । एउटा उपाधि जित्ने सपना भने अझै अधुरै छ । न रेनुका न त प्रशिक्षक राजेन्द्र तामाङसँग उत्तर छैन कि नेपालले उपाधि जित्ने कहिले भनेर । तर, नेपाली फुटबलले एउटा उत्तर भने पाएको छ, उपाधि र त्यस्तै ठूलै सफलतासम्म पुग्ने बाटो भने नजिक छ । नेपाली फुटबलले असाध्यै धेरै दुःख मनाउनुपर्ने स्थिति छैन । मिहिनेत गर्न भने छोड्न मिल्ने स्थिति छैन ।

के त्यस्तो छ त ? छ । प्रशिक्षक तामाङ र पूरा नेपाली टिमले गरेको एउटा ठूलो भुल के भने यो फोर नेसन्स कपलाई लिएर आफूले आफैंलाई असाध्यै दबाबमा राख्यो । त्यो दबाब भनेको उपाधि जित्नैपर्छ भन्ने रह्यो । खासमा यो कुनै औपचारिक प्रतियोगिता थिएन । मैत्रीपूर्ण खेलको शृंखलाजस्तै त थियो । केही खास प्रयोग गर्न सक्थ्यो अनि थप खेलाडीहरूलाई डेब्यु अवसर दिन सकिन्थ्यो । उपाधि जितेको भए राम्रो हुने थियो, तर उपाधि नजितेर के भयो र । नेपाली महिला खेलाडीले प्रतियोगिताका क्रममा धेरै सम्भावना देखाएका छन् ।

नपत्याएको भए म्यानमारका जापानी प्रशिक्षक तेत्सुरो उकीलाई सोधे हुन्छ । पोस्टम्याच कन्फ्रेन्समा उनले नेपाली टोलीको खुलेर प्रशंसा गरे । सबैले भन्दा पहिले उनले प्रतियोगिता आयोजना गरेकामा नेपालकै प्रशंसा गरे । किनभने महिला फुटबलका लागि चाहिने प्रतियोगिता भनेकै यस्तै हो । उकी भन्छन्, ‘नेपाली टिम बलियो छ । त्यसैले त हामीलाई फाइनलमा खेल्न गाह्रो भयो । हामी खुसी छौं, किनभने उपाधि जित्यौं । नेपालले जसरी खेल्यो, हामीलाई गाह्रो नै भयो ।’

दुई मिनेटमा दुई गोल

पहिलो हाफमा नेपालको प्रदर्शन धेरै हदसम्म राम्रै रह्यो । प्रशिक्षक तामाङ पनि आफ्नो टिमको प्रदर्शनप्रति खुसी नै भए । खेलको २४ औं मिनेटमा सान थउ थउको प्रहारलाई विमला बिकले गोललाइन नजिकबाट रोकेकी थिइन् । त्यो स्थितिमा गोल भएको भए नेपाल दबाबमै खेल्न बाध्य हुन्थ्यो । खेलको अर्को मोड ३५ औं मोडमा आयो, जतिबेला नेपालका तीन खेलाडी सावित्रा भण्डारी, रेखा पौडेल र सविता रानामगरले शृंखलाबद्ध रूपमा अवसर त पाए । तर बललाई पोस्टको दिशा दिन तीनै जना असफल रहे । त्यो क्षणमा गोल भएको भए खेल नेपालकै पक्षमा मोडिने थियो ।

When to win the final?

यसमा प्रशिक्षक तामाङ पनि सहमत रहे । उनले माने, त्यो अवसर सदुपयोग भएको भए, कुरै बेग्लै हुने थियो । ‘अगेस्ट रन अफ प्ले’ म्यानमार दुई मिनेटको अन्तरमा दुई गोल गर्न सफल रह्यो । यू पर किनले ६२ औं मिनेटमा म्यानमारबाट गोल गरिन् । यो गोलले दशरथ रंगशालामा उपस्थित करिब १६ हजार दर्शक स्तब्ध बन्न बाध्य रहे ।

गोल खाएलगत्तै नेपालले आफूलाई सम्हाल्न सकेन । खेलाडीले तत्काल थकान महसुस गरे । ‘यो अप्रत्याशित गोल थियो,’ प्रशिक्षक तामाङले भने । त्यसैले त ६४ औं मिनेटमा गीता रानाले आत्मघाती गोल गरिन् । तिनै किनको प्रहारलाई दुर्भाग्यपूर्ण रूपमा गीताले आफ्नै पोस्टको दिशा दिइन् । त्यसपछि खेलमा थप निर्णायक हुनसक्ने मोड आएन । धेरै हदसम्म म्यानमारको प्रदर्शन व्यावसायिक थियो । त्यसैले त यो टिम वरीयतामा नेपालभन्दा धेरै माथि छ ।

नेपालले पाएको शिक्षा

पूरा प्रतियोगिता नेपाली महिला फुटबलको दृष्टिकोणले राम्रो रह्यो । प्रमाणित भएको छ, नेपालमा महिला फुटबल लोकप्रिय छ । हुनसक्छ, यसले लोकप्रियताको मापदण्डमा पुरुष फुटबल उछिन्दै छ । प्रशिक्षक तामाङ भन्छन्, ‘प्रतियोगिता राम्रै भयो भन्नुपर्छ । मलाई सुरुमै लागेको थियो, म्यानमारविरुद्धको खेल सजिलो हुन्न । यो प्रतियोगिताले दिएको शिक्षा के भन्दा म्यानमार जस्तो माथिल्लो स्तरको टिमविरुद्ध खेल्दा हाम्रो प्रदर्शन अझ बढी राम्रो हुनुपर्छ ।’

त्यो के अर्थमा भन्दा नेपालको खेल अझ शक्तिशाली हुनुपर्ने थियो । हामीले नेपाली फुटबलमा कुन तरिकाले लगानी गर्नुपर्ने हो, त्यो थाहा पाउनुपर्छ । नेपालले फाइनलमा म्यानमारसँग हारेको पनि यो नै पहिलो पटक होइन, सन् २०१९ को फाइनलमा पनि यही टिम नेपालको पहिलो उपाधिमा बाधक बनेको थियो । यसपल्टको हारपछि नेपाली टोलीकी सर्वाधिक अनुभवी खेलाडीमध्ये एक रेनुका निकै भावनात्मक रहिन् । उनलाई राम्रोसँग के थाहा छ भने धेरै हदसम्म नेपाली महिला फुटबल सही दिशातर्फ अग्रसर छ ।

हिमेश

Link copied successfully