काठमाडौँ — सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही शीर्षस्थानमा कायमै रहेका छन् । बिहीबार २ अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३ अन्डर २०३ सहित शीर्षमा छन् ।
तोरणले नीरज तामाङलाई १ स्ट्रोकले पछि पारे । ४ अन्डर ६८ सहित समग्रमा १२ अन्डर २०४ को स्कोरमा नीरज दोस्रो स्थान अडिग छन् । अन्तिम १८ होलको खेल बाँकी छँदा उनले तोरणलाई दबाब दिएका छन् ।
एमेच्योर गल्फरद्वय राहुल विश्वकर्मा र सद्भाव आचार्यले ६ अन्डर ६६ को सानदार प्रदर्शन गरेका छन् । समग्रमा ६ अन्डर २१० सहित उनीहरू संयुक्त तेस्रो छन् । एमेच्योरतर्फ उनीहरू शीर्षमा रहे । समग्रमा ५ अन्डर २११ बनाएका जयराम श्रेष्ठले ४ अन्डर ६८ को स्कोर कार्ड बनाए । उनी पाँचौं स्थानमा रहे । नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३ अन्डर ६९ को स्कोर बनाए । उनी समग्रमा ४ अन्डर २१२ सहित छैटौं स्थानमा उक्लिए । १ अन्डर ७१ को स्कोरसहित दिनेश प्रजापति समग्रमा ३ अन्डर २१३ सहित सातौं स्थानमा छन् ।
सन्जय लामाले ३ अन्डर ६९ को स्कोर बनाए । समग्रमा भने २ अन्डर २१४ को स्कोरमा आठौं स्थानमा छन् । समग्रमा इभन पार २१६ स्कोर जोडेका रामे मगर र टंकबहादुर कार्कीले नवौं स्थान बाँडे । रामेले २ अन्डर ७० र टंकले २ ओभर ७४ को स्कोर निकाले ।
लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहेका तोरणले फ्रन्टनाइन २ अन्डर ३४ मा सकाए । उनले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा ११ र १२ औं होलमा शट बचाए पनि १० र १५ औं होलमा बोगी सामना गरे । उनले ब्याकनाइन इभन पार ३६ मा सके ।
नीरजले फ्रन्टनाइन १ ओभर ३७ मा पूरा गर्नेक्रममा पाँचौं र सातौं होलमा बोगी प्रहार गरे । आठौं होलमा एक शट बचाए । उनले ब्याकनाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५ अन्डर ३१ मा सके । उनले १२, १५ र १६ औं होलमा बर्डी प्रहार गर्दा ४ पारको १८ औं होलमा इगलको सफलता पाए ।
एमेच्योर राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे । फ्रन्टनाइन १ अन्डर ३५ मा सके । ब्याकनाइनमा राहुले सानदार प्रदर्शन गरे । १०, ११ र १२ औं होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १५ र १६ औं होलमा पनि बर्डी प्रहार गर्न सफल रहे । उनले ब्याकनाइन ५ अन्डर ३१ मा सके । यो नतिजामस उनी संयुक्त तेस्रो स्थानमा उक्लिए ।
सद्भावले फ्रन्टनाइन ४ अन्डर ३२ मा सके । उनले बोगीरहित फ्रन्टनाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि १३ औं होलमा बोगी खेपे पनि ११, १२ र १८ औं होलको बर्डीले ब्याकनाइन २ अन्डर ३४ मा सके ।
