काठमाडौँ — लिभरपुलले बुधबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–० ले हराउँदै शीर्ष स्थानमा आफ्नो अग्रतालाई १३ अंक पुर्याएको छ । उसका लागि एनफिल्डमा भएको खेलमा डोमिनिक सबोसलाई र एलेक्स म्याक एलिस्टरले प्रत्येक हाफमा एक एक गोल गरे ।
आर्सनलले अर्को खेलमा नटिङघम फरेस्टसँग गोलरहित बराबरी खेलेपछि लिभरपुललाई फाइदा भएको हो । लिगका पछिल्ला २४ खेलमा लिभरपुल अपराजित रहेको छ र अब कीर्तिमान २० औं लिग उपाधि लगभग निश्चित जस्तै देखिएको छ ।
तर ३५ वर्षयता लिभरपुलले जित्ने यो दोस्रो लिग उपाधि मात्र हुनेछ । क्लब व्यवस्थापक आर्ने स्लटले भने यो खेल दर्शकदीर्घामा बसेर हेरेका थिए । उनी दुई खेलको ‘टच–लाइन’ प्रतिबन्धबाट गुज्रिरहेका छन् ।
बुधबारका अर्को प्रमुख खेलमा म्यानचेस्टर सिटीले टोटनहमलाई १–० ले हरायो र त्यसमा इर्लिङ हालान्डले एक मात्र गोल गरे । यस्तै म्यानचेस्टर युनाइटेडले इपस्विच टाउनलाई ३–२ ल पराजित गर्यो भने ब्रेन्टफोर्ड र एभरटनले १–१ को बराबरी खेले ।
