च्याम्पियन्स ट्रफी : इङ्ग्ल्यान्डमाथि अफगानिस्तानको रोमाञ्चक जित

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Champions Trophy: Afghanistan's thrilling win over England

काठमाडौँ — पाकिस्तान र दुबईमा जारी च्याम्पियन्स ट्रफीको नवौं संस्करण अन्तर्गत समूह ‘बी’मा बुधबार भएको खेलमा इङ्ग्ल्यान्डमाथि अफगानिस्तानले जित निकालेको छ । लाहोरमा भएको खेलमा अफगानिस्तानले बलियो इङ्ग्ल्यान्डमाथि ८ रनको रोमाञ्चक जित निकालेको हो । 

पहिले ब्याटिङ गर्दै अफगानिस्तानले ७ विकेटको क्षतिमा ३२५ रनको लक्ष्य दिएको थियो । ३२६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै ३१७ रनमा समेटियो । 

अफगानिस्तानको विशाल स्कोर बनाउने क्रममा इब्राहिम जार्दानको इनिङ्स महत्त्वपूर्ण रह्यो । उनले १४६ बलको सामना गर्दै एक्लै १७७ रनको योगदान दिए । यस क्रममा उनले १२ चौका र ६ छक्का प्रहार गरे । 

यस्तै हसमतुल्लाह शहिदीले ४०, अजमतुल्लाह ओमरजाईले ४१ र मोहम्मद नवीले ४० रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

इङ्ग्ल्यान्डका लागि जोफ्रा आर्चले ३ विकेट लिँदा लिम लिभिङ्स्टोनले २ तथा जेमी ओभर्टन र आदील रासिदले एक/एक विकेट लिए । 

जवाफी ब्याटिङका क्रममा इङ्ग्ल्यान्डका तर्फबाट जोए रुटले १२० रनको योगदान एक्लै दिए पनि जितका लागि पर्याप्त हुन सकेन । १११ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गरे । यस्तै जोश बटलर र बेन डकेटले ३८/३८ रन तथा जेमी ओभर्टनले ३२, ह्यारी ब्रोकले २५, जोफ्रा आर्चरले १४, फील सल्टले १२ र लिम लिभिङ्स्टोनले १० रन बनाए । 

बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह ओमरजाई एक्लैले पाँच विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका उनले ५८ रन खर्चिँदै महत्त्वपूर्ण पाँच विकेट लिएका हुन् । यस्तै मोहम्मद नवीले २, रासिद खान, गुलबद्दिन नइब र फजलहक फारुकीले एक/एक विकेट लिए । 

यो ग्रुपमा दक्षिण अफ्रिका एक जित र एक अंक बाँडेका कारण ३ अंकसहित पहिलो स्थानमा छ । यस्तै अस्ट्रेलिया पनि एक जित र एक अंक बाँड्दै तीन अंकका साथ दोस्रो हुँदा अफगानिस्तान एक हार र एक जितसहित २ अंकका साथ तेस्रोमा छ । इङ्ग्ल्यान्ड दुई खेलमा हार बेहोर्दै अंकविहीन छ । 

शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ए बाट भारत र न्यूजिल्यान्ड पुगिसकेका छन् । समूह ए मा लगातार दुई खेल हार्दै सेमिफाइनल दौडबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश आज समूहचरणको अन्तिम खेल खेल्दैछन् । नेपाली समयअनुसार खेल २ बजेर ४५ मिनेटमा हुनेछ ।

कान्तिपुर

Link copied successfully