अभिषेक इन्डियाना वेल्समा ‘हिटिङ पार्टनर’

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Abhishek 'hitting partner' at Indiana Wells

काठमाडौँ — नेपाली नम्बर वान टेनिस खेलाडी अभिषेक बाँस्तोला क्यालिफोर्नियास्थित इन्डियाना वेल्समा हुने बीएनपी परिवास ओपन टेनिसमा हिटिङ पार्टनर बन्ने भएका छन् ।  

इन्डियाना वेल्स टेनिस गार्डेनमा बीएनपी टेनिस मार्च २ देखि १६ सम्म हुनेछ । त्यसका लागि उनी बिहीबार त्यसतर्फ गएका छन् ।

उनले हिटिङ पार्टनरका रूपमा उक्त प्रतियोगितामा सहभागिता हुन पाउनु आफ्ना लागि ऐतिहासिक क्षणको बताएका छन् ।

उनी विश्वको सबैभन्दा ठूलो प्रतियोगितामध्ये एक इन्डियन वेल्समा लगातार दोस्रो वर्ष हिटिङ पार्टनर बन्न लागेका हुन् । उनले हिटिङ पार्टनरको रूपमा एटीपी र डब्लुटीएका शीर्ष खेलाडीसँग अभ्यास गर्नुका साथै अभ्यास खेल खेल्ने, उनीहरूलाई वार्मअप गराउने र अभ्यासमा सघाउनुपर्ने हुन्छ ।  

उनले भने, ‘यो नेपाली टेनिसका लागि ऐतिहासिक उपलब्धि हो, किनकि यो अवसर पाउने पहिलो नेपाली खेलाडी हुँ । विश्वका शीर्ष टेनिस खेलाडीहरूबाट सिक्ने, उनीहरूसँग तालिम लिने र उच्च स्तरमा अनुभव बटुल्ने एउटा अविश्वसनीय अवसर हो ।’

अभिषेकले गत महिना जापान र दुबईमा भएको प्रो टेनिस युटीआरमा सहभागिता जनाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully